पानी अभावमा विद्यालयको शौचालय प्रयोगविहीन

 175 पटक हेरिएको

सल्यान : सल्यानको बन्गाडकुपिण्डे नगरपालिकामा ६५ सामुदायिक विद्यालय छन् । पानी अभावका कारण ४० विद्यालयका शौचालय प्रयोगविहीन बनेपछि विद्यार्थीलाई खुला शौच गर्नुपर्ने बाध्यता छ ।

जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस, वडा कार्यालय, नगरपालिका र अन्य संघसस्थाले लाखौं खर्चेर निर्माण गरेका शौचालय प्रयोगविहीन बनेपछि लगानी खेर गएको छ । शौचालय प्रयोगविहीन हुँदा नगरभरिका करिव ४ हजार विद्यार्थी प्रभावित बनेका भैरवी निम्न मावि, देवस्थलका प्रधानाध्यापक खिमलाल विकले बताए । उनका अनुसार विद्यालयको शौचालय ३ वर्षदेखि प्रयोगविहीन बनेको छ । ‘पानीको पर्याप्तता हुँदा विद्यार्थीलाई शौच गर्न सुविधा थियो,’ उनले भने, ‘नजिकैका मुहान सुकेपछि शौचालय प्रयोग गर्न छाडेको लामो समय भइसक्यो ।’ उनले खुला शौच गर्दा छात्राहरू बढी समस्यामा परेको सुनाए । उनले विद्यार्थीका लागि पिउने पानी ल्याउन आधा घण्टा टाढाको मुहानमा जानुपर्ने बाध्यता रहेको जनाए । विद्यार्थीले जथाभाबी दिसापिसाब गर्दा विद्यालय आसपासको क्षेत्र दुर्गन्धित हुन थालेको उनको भनाइ छ ।

सिद्धेश्वरी माविका प्रधानाध्यापक थुमन केसीले बालबालिकालाई विद्यालय नजिकैका घरका शौचालयमा पठाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार गाउँमा खानेपानी अभाव हुँदा विद्यार्थीलाई खुला शौच गर्न पठाउनुपर्ने बाध्यता छ । ‘कहिले जंगलमा त कहिले आफन्तका घरका शौचालयमा जानुपर्ने बाध्यताले माथिल्लो कक्षाका विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ,’ उनले भने, ‘विद्यालयले वैकल्पिक व्यवस्था गर्न नसक्दा छात्राहरू बढी प्रभावित छन् ।’ यो खबर कान्तिपुर दैनिकले छापेको छ ।

पानीको अभावमा अधिकांश विद्यालयका शौचालय लामो समयदेखि दुर्गन्धित बनेको कृष्ण मावि, संग्रहरीका प्रधानाध्यापक मोहनकुमार रोकायले गुनासो गरे । ‘बाहिरबाट सबै शौचालय चिटिक्कका देखिन्छन्,’ उनले भने, ‘प्रयोगविहीन बनेपछि लामो समयदेखि विद्यालयका शौचालयमा ताला लगाएका छौं ।’ खानेपानी अभावका कारण विद्यालयमा अन्य सरसफाइका काममा पनि बाधा परेको उनको भनाइ छ । उनले विद्यार्थीलाई खानेपानी सुविधा दिन एक घण्टा टाढाबाट पानी बोकेर ल्याइने गरिएको जानकारी दिए । बन्गाडकुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगीले अधिकांश गाउँमा लामो समयदेखि खानेपानी अभाव रहेको जानकारी दिए ।

उनका अनुसार विद्यालयका मात्र नभइ अधिकांश स्थानीयका शौचालय पानी अभावकै कारण प्रयोगविहीन बनेका छन् । ‘जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुग्यो, तर बाहिरै शौच गर्नुपर्ने बाध्यता छ,’ उनले भने,‘स्थानीयलाई खानेपानी सुविधा दिन विभिन्न गाउँमा लिफ्ट खानेपानी योजना निर्माण भइरहेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार