मुहान सुकेपछि जमिन मुनिको पानी खोजी गरिदै

 1208 पटक हेरिएको
🔗
8
Shares

अर्घाखाँची : मुहान सुकेपछि यहाँ जमिनमुनि पानी खोज्ने अभियान चलाइएको छ । जथाभावी मोटरबाटो खन्दा मुहान नै सुकेपछि खानेपानीका ट्यांकी र धारा अलपत्र परेका हुन् । गाउँमा खानेपानी उपलब्ध गराउन अब यहाँ बोरिङलाई विकल्प ठान्न थालिएको छ । जिल्लाका ६ वटै स्थानीय तहका अधिकांश गाउँमा अहिले खानेपानीको समस्या छ । मुहानबाट पाइपमा ल्याएर गाउँमा वितरण गरिएका धारामा अहिले पानी आउँदैन । केही गाउँमा लिफ्ट प्रविधिबाट खोलाको पानी डाँडोमा तानिएको छ ।

वर्षौंदेखि गाउँमा आएको खानेपानीको मुहान सुकेपछि केही वर्ष मालारानी गाउँपालिका–३ र ६ वडामा नयाँ योजना सञ्चालन गर्ने स्रोत कतै भेटिएन । विकल्प एउटै बन्यो, जमिनमुनिको पानी खोज्ने । मालारानी मन्दिरनजिकै जंगलमा मेसिनले करिब तीन सय मिटर खनेपछि पानी भेटियो । पहाडको चुचुरोदेखि करिब ५ सय मिटर तल पानी भेटिएपछि स्थानीयमा खुसियाली छाएको छ । अब जमिनमुनिको पानी बाहिर ल्याएर ट्यांकीमा जम्मा गर्ने र गाउँमा वितरण गरिने गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

वडा–३ को खनदह र ६ को हंसपुरमा घना बस्ती छ । त्यहाँ पानीको स्रोत कतै भेटिएन । खोलाको पानी तान्न पनि सम्भव भएन । केही वर्षअघि विभिन्न मुहानबाट गाउँमा पानी ल्याइएको थियो । टोलैपिच्छेका घरमा धारा थिए । गाउँमा ठूलो ट्यांकी थियो । पानीको केही दुःख थिएन । तर, पाँचरछ वर्षयता सबै मुहान सुके । दुई वडाका झन्डै तीन हजार उपभोक्ता पानीको समस्यामा परे । ‘जमिनमाथिका मुहान पूरै सुके, अब कतै पानी छैन । बोरिङ गरेर निकाल्नुको विकल्प रहेन,’ गाउँपालिका अध्यक्ष आचार्यले भने, ‘योजना सम्पन्न गर्न ५० लाख बजेट छ ।’यो खबर कान्तिपुरबाट साभार गरिएको हो ।

मालारानीका नौवटै वडामा खानेपानीको समस्या छ । केही गाउँमा मात्रै मूलको पानी सिधै आउँछ । यो योजना सम्पन्न भएपछि सबै ठाउँमा यसरी नै जमिनभित्र पानी खोजेर पालिकाभरिका बासिन्दालाई खुवाउने लक्ष्य रहेको आचार्यले बताए । बोरिङ गरेको पानी गाउँमा ल्याएर वितरण गर्ने योजना बनिसकेको मालारानी गाउँपालिका–३ का वडाध्यक्ष शोभाखर खनालले बताए । ‘यहाँका लागि यो नयाँ प्रविधि हो, टिकाउ कत्तिको हुन्छ, परीक्षण पनि हुनेछ,’ उनले भने । पानी ल्याउने विकल्प नभएपछि यो विधि अपनाइएको उनले बताए ।

हंसपुर र रतनमारे लगायतको गाउँ अलि अग्लोमा छ । घेरको लेकबाट आउने मुहानको पानी सुकेपछि त्यही ठाउँमा जमिनमुनि पानी खोजिएको हो । ‘पहिला सिंचाइ गर्न पनि प्रशस्त पानी पुग्थ्यो,’ बाइसाना गाउँका स्थानीय लोकबहादुर बस्नेतले भने, ‘बिस्तारै सुक्दै गएर अहिले त मुहानको ट्यांकीमा पनि थोपो झर्दैन ।’ बोरिङको पानी धारामा खसेपछि पानीको दुःख हट्नेछ र पशुपालनमा वृद्धि हुने उनले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार