प्रदुषण गर्ने चिनी मिल विरुद्ध स्थानीयबासी आन्दोलित

सर्लाही : सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलले प्रदुषण रोक्न पहल नगरेको भन्दै स्थानीयबासिन्दाले उद्योगमा तालाबन्दी गरेका छन् । स्थानीयले बुधबार दुई घण्टा तालाबन्दी गरेका छन् । आइतबारदेखि आन्दोलित स्थानीयले उद्योगलाई तीन दिने अल्टिमेटम दिएका थिए । प्रदूषण नरोके कडा कदम चालिने संघर्ष समितिका संयोजक सुरेश भट्टराईले चेतावनी दिनुभयो ।

मिलबाट निस्कने कालो धूलोले धोएर सुकाएको सेतो लुगा कालै हुने, घरभित्रै बसेर खाना खाँदा पनि खानाभरि छपक्कै धूलो बस्ने, श्वास लिन समेत गाह्रो हुने लगायत समस्या भएपनि स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । प्रदूषण रोक्न मिलले सामान्य उपकरणसमेत नराखेको स्थानीयको गुनासो छ । संघर्ष समिति र मिल प्रशासनबीच मंगलबार भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । मिलले एक वर्ष पर्खिन आग्रह गरे पनि लिखित प्रतिबद्धता नगर्दा ताला लगाइएको भट्टराईले बताउनुभयो । ‘अब प्रत्येक दिन तालाबन्दीको समय बढाउँदै जान्छौं,’ उहाँले भन्नुभयो । स्थानीयको आन्दोलनलाई जनप्रतिनिधिले पनि समर्थन गरेका छन् ।

मिल प्रशासनले भने प्रदूषण नियन्त्रणको प्रयास भइरहेको जनाएको छ । प्रदूषण नियन्त्रण गर्नलाई प्रविधिक चाहिने भएकाले केही समय लाग्ने मिल प्रशासनको भनाइ छ ।
उता बाराको फेटा गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय युवाले चिनी मिलले गरेको प्रदूषण रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत दिएका छन् । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले फोहोर नफाल्न मिललाई निर्देशन दिएको बताउनुभयो । मिल प्रशासनले फोहोर व्यवस्थापनका लागि प्रदूषण रोक्ने प्लान्ट स्थापना भइरहेको दाबी गरेको छ ।

बाराको रिलायन्स चिनी मिलको फोहोरले बंगरी खोला प्रदूषित बनेको छ । कलैया उपमहानगरपालिका–२४ श्रीपुर गाउँस्थित मिलले फोहोर मिसाउँदा खोलाको पानी प्रयोग गर्न नमिल्ने भएको हो । मिलको फोहोरले खोलाको पानी विषादी जस्तो भएकाले कयौं माछा मरेको स्थानीय बासिन्दाले बताएका छन् । कलैया उपमहानगरसहित प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकाका दर्जनभन्दा बढी गाउँ मिलले गरेको प्रदूषणको मार खेपिरहेका छन् । खोला छेउछाउका २० किलोमिटर दुरीसम्मका विभिन्न गाउँपालिकाका स्थानीयले प्रदूषण रोकथामका लागि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार