बेनिघाट रोराङ ८, सुरक्षित पानी पिउने वडा घोषणा

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ लाई सुरक्षित पानी पिउने वडा घोषणा गरिएको छ । वडा भित्रका सबै ४ सय ५९ घरपरिवारले नै फिल्टरको प्रयोग मार्फत पानी शुद्दीकरण गरी पिउन थालेपछि शान्ति नेपाल र एन्फोको प्राबिधिक सहयोगमा बेनिघाट रोराङ गाउपालिका वडा नम्बर आठले आयोजना गरेको कार्यक्रममा सुरक्षित पानी पिउने वडा घोषणा गरिएको हो । घोषणा कार्यक्रममा सुरक्षित पानीका लागि सबै घरले फिल्टर प्रयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेको शान्ति नेपालका सरसफाइ तथा स्वच्छता सहजकर्ता आकाश चेपाङ्ले जानकारी दिनुभयो । पूर्ण सरसफाइको सूचक मध्ये सुरक्षित पानी उपभोग गरेको हुनुपर्ने एउटा महत्वपूर्ण सूचक हो ।

‘सरसफाइ स्वच्छतामा एक कदम अघि सरी , सधैं सुरक्षित पानी पिउछौ फिल्टर प्रयोग गरी’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा चेपाङ, नेवार र गुरुङ समुदायको सांस्कृतिक नृत्त्य सहित सरसफाइ सम्बन्धी सन्देशमूलक गीत प्रस्तुत गरिएको थियो ।  यस्तै यारबाङ र दुङबाङको चेपाङ जातिले नौमती बाजा र चैलिङको नेवार समुदायबाट पन्चेबाजा सहित र्‍यालीको आयोजना गरिएको थियो ।

 

कार्यक्रम बेनीघाट रोराङ गाउँँपालिका उपाध्यक्ष देविप्रसाद सिल्वालको प्रमुख आतिथ्यता र वडा अध्यक्ष बीर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सरकारको पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार पूर्ण सरसफाइ कार्यक्रमलाइ सहयोग पुर्‍याउने उद्देश्यले बेनिघाट रोराङ गाउँपालिका, गजुरी र सिद्द्लेक गाउँपालिकाका १५ हजार घरधुरीमा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को साझेदारीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सञ्चालन भईरहेको छ ।

फोटोहरु : सुरेश सिग्देल, शान्ति नेपाल ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार