बर्षौ देखि घैंटाको पानीकै भर

 175 पटक हेरिएको


डोटी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँका बासिन्दाले बर्षौदेखि घैंटाको पानीको भरमा बाँच्दै आएका छन् । गाउँका २ सय घर परिवारले बर्षौदेखि आकाशेपानी घैंटोमा संकलन गरी पिउँदै आएका छन् । गाउँ नजिकै पानीको मुहान नभएकाले आकाशेपानी संकलन गरी पिउनुपर्ने बाध्यता सिर्जना भएको बाँफीका उमेशबहादुर साउदले बताउनुभयो । घैंटोमा जम्मा गरिएको पानी पिउँदा मानिसहरु बिरामी पर्न थालेका छन् । पानीसँगै मिसिएर आउने पहेंलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छाला सम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको साउदले बताउनुभयो । ‘घैटामा जम्मा भएको पानीमा छानोको फोहोरहरु पनि जम्मा हुने सम्भावना बढ्दो रहेछ, यसले बूढापाका, बालबालिका र महिला समेत यसबाट प्रभावित हुने गरेका छन्’ उहाँले भन्नुभयो ।

घैटोमा जम्मा गरिएको आकासेपानी कम्तीमा सात महिना सम्म प्रयोग गर्ने गरेको अर्का स्थानीय देबबहादुर साउदले बताउनुभयो । ‘गाउँ नजिक पानी छैन, आकासको पानी जम्मा गरेर हामी सात महिना सम्म प्रयोग गर्छौ, ताजा पानी पिउन पाए पो रोग पनि नलागोस्, अहिले घरघरै मानिस रोगी हुना थालेका छभन् । महिनांै सम्म जम्मा गरेको उक्त पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्सेनिक हुनसक्ने अनुमान गरिए पनि अहिलेसम्म गाउँलेले पानी परिक्षण समेत गराएका छैनन् । जम्मा गरिएको पानीले कपडा धुँदा लुगा पहेंलो हुने र भाँडाकुँडामा समेत दाग लाग्ने समस्या देखा परेको साउदले बताउनुभयो ।

खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा समेत कसैले सुनुवाइ नगरेको स्थानीयको आरोप छ । गाउँमा वर्षौ पहिले एक गैरसरकारी संस्थाले बनाएको आकासेपानीका कारण प्राण धानिरहेको कलुदेबी साउदले बताउनुभयो ।

स्थानीय स्तरदेखि राष्ट्रिय स्तरका निर्वाचनका समयमा नेताहहरुले पानीको समस्या समाधान गर्ने भन्दै भोट मागे पनि निर्वाचन सकिएपछि गाउँमा फर्केर पनि नआउने गरेको साउदको आरोप छ । गाउँमा पानीको समस्या भएपछि कतिपय स्थानीयले सेती नदी किनारामा बसाइँ सरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भने बाँफी गाउँमा पानीको समस्या समाधानका लागि पहल भैरहेको बताउनुभयो । उहाँले गाउँमा पानीकै कारण स्थानीय बिरामी हुँदै आएको जानकारी पाएको र पानीको समस्या समाधानका लागि नरपालिकाले पहल गरिरहेको बताउनुभयो । ‘पानीको समस्या पूरा गर्न नगरपालिकाले श्रोतको खोजी गरिरहेको छ’ नगरप्रमुख मलासीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार