गुहेश्वरी ढल प्रशोधन केन्द्र पूर्ण सञ्चालनमा, बाग्मतीमा सफा पानी बग्न थाल्यो (भिडियो रिपोर्ट )

काठमाडौ : ढलैढल मिसिएको कालो लेदो मात्र बग्ने बाग्मतीमा अहिले सफा पानी बग्न थालेको छ । गुहेश्वरीको ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बाग्मतीमा सफा पानी बग्न थालेको हो । गुहेश्वरीभन्दा माथिल्लो भागमा पर्ने कागेश्वरी, मनोहरा, जोरपाटी, अत्तरखेल गोकर्ण, बौद्ध लगायत क्षेत्रको ढललाई जम्मा गरी गुहेश्वरी ढल प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि वाग्मतीमा पठाउन थालिएको हो ।

हेरौं भिडियो रिपोर्ट :

गुहेश्वरीमा प्रशोधन भएको पानी अहिले तिलगंगामा विसर्जन गर्ने गरिएको छ । तर केही दिनमा गुहेश्वरीमै पानी बिसर्जन गर्ने गरी काम भईरहेको छ । महाशिवरात्री पर्वमा पशुपतिनाथमा सफा पानी बगाउने गरी काम भईरहेको नेपाली ठेकेदार शर्मा एण्ड कम्पनीका इन्जिनियर राम प्रसाद अर्यालले बताउनुभयो ।

हरेक दिन ३ करोड २४ लाख लिटर ढल प्रशोधन गर्ने प्रशोधन केन्द्रको क्षमता छ । तर अहिले दैनिक २ करोड ४० लाख लिटरसम्म मात्र ढल संकलन भईरहेको छ । यसले अझै थप जनसंख्याको ढललाई समेत धान्ने देखिन्छ । प्रशोधित पानीको गुणस्तर समेत तोकिएको मापदण्ड भन्दा थप गुणस्तरको पाईएको छ । वाग्मतीमा बग्ने पानीमा अब जलचर प्राणी बाँच्न सक्ने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लिला ढकालले बताउनुभयो ।

ढल प्रशोधन गर्न एशियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार ऋण सहयोग गरेको छ । यसको कुल लागत भने २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ रहेको छ । सरकारले आफ्नै लगानीमा डिजाइन, भवन निर्माण लगायत काम गरेको छ भने निर्माण सम्पन्न पश्चात १० वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन तथा व्यवस्थापनको काम गर्नेछ । ढल प्रशोधन केन्द्रको दिसाजन्य लेदोबाट बायोग्यास र प्रशोधित पानीबाट विद्युत समेत निकालिने छ । तर यसका लागि केही समय लाग्ने आयोजनाले जनाएको छ ।

प्रशोधन केन्द्र सञ्चालनका लागि चाहिने ३० प्रतिशत विद्युत् केन्द्रमा उत्पादन हुने विजुलीले नै धान्नेछ । बायोग्याँस उत्पादनका क्रममा निस्कने दैनिक ७ टन प्रशोधित लेदोलाई कृषि उपजका लागि मलको रुपमा प्रयोग गर्न सकिनेछ ।

बाग्मतीमा सङ्लो पानी बगाउनका लागि गुहेश्वरीको ढल प्रशोधन केन्द्र सञ्चालन गरेर मात्र पुग्दैन । यसका साथै भक्तपुरको कोड्कु, ललितपुरको बालकुमारी र धोवीघाटमा आयोजना कार्यान्वयन निर्देशनालयले ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । चारैवटा ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र वाग्मतीमा पूरै सफा पानी वग्नेछ । चारवटै प्रशोधन केन्द्रबाट दैनिक १३ करोड ८१ लाख लिटर ढल प्रशोधन हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार