बेनीघाट रोराङमा एक घर एक फिल्टर

धादिङ : बर्षायाम सुरु हुने बित्तिकै स्वास्थ्यचौकी बिरामीले भरिभराउ हुन्थ्यो । अधिकांश बिरामी झाडापखालाको समस्याले स्वास्थ्यचौकी धाउँथे । झाडापखाला नलागेको घर भेट्न मुश्किल पर्थ्यो । त्यही बीचमा गाउँमा सरसफाइ अभियान चल्यो । हरेक घरले चर्पी बनाएर चर्पीमै मात्र दिसापिसाब गर्न थाले । गाउँमा झाडापखालाका बिरामी केही मात्रमा घट्न त थाल्यो तर पूरै सुधार भएन ।

दुषित पानीका कारण झाडापखालाको बिरामी बढेको रहेछ भन्ने निष्कर्षमा पुगेको धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ का बासिन्दाले अहिले फिल्टर मार्फत शुद्धीकरण गरेको पानी मात्र पिउँछन् । एक घरले होइन, दुई घरले होइन, वडा नम्बर ८ भरिका ४ सय ५९ घरपरिवारले नै फिल्टरको प्रयोग गर्छन् । एक घर एक फिल्टरको व्यवस्था गरी यसको प्रयोगबारे वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को साझेदारी शान्ति नेपालले अभियान सञ्चालन गरेको हो । सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सञ्चालन गर्दै आइरहेको शान्ति नेपालका सरसफाइ तथा स्वच्छता प्रज्वलक आकाश चेपाङले बताउनुभयो ।

‘अहिले हरेक घरमा फिल्टर छ, फिल्टरको सहायताले पानी शुद्धीकरण गरी प्रयोग गर्ने गर्छन्’ सरसफाइ तथा स्वच्छता प्रज्वलक चेपाङले भन्नुभयो । फिल्टरको प्रयोग गरी पानी शुद्धीकरण गरेर पिउन थालेपछि बेनीघाट रोराङ ८ लाई हालै सुरक्षित पानी पिउने वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा सधै शुद्धीकरण गरेको पानी मात्र पिउने प्रतिबद्धता समेत जनाएका छन् ।

‘सरसफाइ स्वच्छतामा एक कदम अघिसरी, सधैं सुरक्षित पानी पिउँछौं फिल्टर प्रयोग गरी’ भन्ने नाराका साथ सुरक्षित पानी पिउने वडा घोषणा गरिएको वडा नं. ८ का अध्यक्ष वीरबहादुर श्रेष्ठको बताउनुभयो । सरकारको पूर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार पूर्ण सरसफाइ कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले वडा नं. ८ लाई सुरक्षित पानी पिउने वडा घोषणा गरिएको अध्यक्ष श्रेष्ठको बताउनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका, गजुरी र सिद्दलेक गाउँपालिकाका १५ हजार घरधुरीमा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को साझेदारीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सञ्चालन भईरहेको छ ।

दिगो विकास लक्ष्यले सन २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइ उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य तोकेको छ । यो लक्ष्य हासिल गर्न जिल्ला समन्वय समिति धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानीय तहको सहभागितामा २०२३ सम्ममा जिल्लाभर सफा गाउँ घोषणा गर्ने र २०२५ सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरी काम भईरहेको छ ।

फोटो :सुरेश सिग्देल, शान्ति नेपाल ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार