
जुम्ला : खानेपानी उपभोग गरेबापत खानेपानी महसुल र विजुली प्रयोग गरेबापत विद्युत महसुल त तपाई हामीले तिर्दै आएका थियौं । तर अब सार्वजनिक शौचालय प्रयोग गरे बापत शौचालय महसुल पनि तिर्नुपर्ने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा हालै बनाईएको स्मार्ट शौचालय प्रयोग गरेबापत मासिक शौचालय महसुल भुक्तानी गर्नुपर्ने नियम बनाएको हो ।
यसका लागि नगरक्षेत्रका स्थानीयबासिन्दालाई शौचालय कार्ड प्रदान गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताउनुभयो । उहाँका अनुसार बजारमा बसोवास गर्ने, घर भएका तर शौचालय नभएका घरका लागि यस्तो नियम बनाएको हो । बजार क्षेत्रमा घर भएका बासिन्दाले शौचालय प्रयोग गरेबापत मासिक ३ सय रूपैया महसुल बुझाउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
घर भएका तर शौचालय नभएकाहरूलाई कार्ड सिस्टमले शौचालय प्रयोग गर्न दिईंदा सबैले नियमित शौचालयको प्रयोग गर्ने, सरसफाइ गर्ने बानीको विकास हुने विश्वास गरिएको छ । पर्ने विश्वास गरिएको छ । अध्यक्ष अलिमनियार भन्नुहुन्छ ‘बजारमा सार्वजनिक शौचालयको अभाव विगतदेखि नै थियो, जसले गर्दा खुला ठाउँमा दिसापिसाब गर्ने गरेका थिए, हामीले नमुना र सुविधायुक्त शौचालय निर्माण गरेर सञ्चालन गर्ने प्रणालीको पनि विकास गरेका छौं, अब त्यस्तो हुने छैन ।’
शौचालय निर्माण गर्न ४० लाख ६२ हजार ४ सय ४४ रूपैयाँ खर्च भएको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बर खड्काले जानकारी दिनुभयो । शौचालय निर्माणका लागि साविकको सहरी विकास तथा भवन निर्माण सव डिभिजन कार्यालयले ४४ लाख ६३ हजार २ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । खर्च नभएको रकम कोषमा जम्मा गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
शौचालयको उदघाटन गर्दै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले कर्णालीमै सुविधा सम्पन्न शौचालय बनेको दाबी गर्नुभयो । उहाँले अब बजारमा आउने हरेक उपभोक्ताले सहजै रूपमा शौचालय प्रयोग गर्न पाउने बताउनुभयो । नगरपालिकाले पनि गुठीको जग्गा लिजमा लिएर अर्को नमुना शौचालय निर्माणको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । यसअघि सार्वजनिक शौचालय नहुँदा सदरमुकाम आएका र सदरमुकामकै बासिन्दा पनि दिसा पिसाब गर्न खोला किनारमा जानुपर्ने बाध्यता थियो ।


1869 पटक हेरिएको 

