
काठमाडौ : खानेपानी मन्त्रालयका पूर्व दुई जना सहसचिवले एक महिनाको पेन्सन नेपाल सरकारले स्थापना गरेको कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । पूर्व सहसचिवहरु नन्द बञ्जाडे र राजनराज पाण्डेले एक – एक महिनाको पेन्सन कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । पूर्व सहसचिव बन्जाडेले एक महिनाको पेन्सन योगदान गर्ने घोषणा गर्दै फेसबुकमा लेख्नुभएको ‘सरकारको बिशेष कोषमा सहयोग रकम जम्मा गर्न चाहने उदारमन भएका सबैको जानकारीका लागि .. ..म पनि एक महिनाको पेन्सन बुझाउने छु यो खातामै । आव्हान पनि गर्छु बहालवाला र निवृत्त राष्ट्रसेवकहरुलाई ।’

उहाँले समग्र विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेको बेला देशमा संकट परेको बेला आफ्नो तर्फबाट गर्न सकिने सहयोग गरेको बताउनुभयो । यो पूण्य कार्यमा उहाँले बहालवाला सरकारी कर्मचारी र पूर्व कर्मचारीलाई समेत सहयोग गर्न अपिल गर्नुभयो ।
यस्तै अर्का पूर्वसहसचिव पाण्डेले आफ्नो तर्फबाट सानो अंश सहयोग गर्दा राष्ट्रलाई केही सघाउ पुग्छ भने किन नगर्ने ? भनेर सहयोग गरेको बताउनुभयो । ‘विश्वभरि यत्रो महामारी फैलिएको छ । मे यो सानो योगदान हो । मलाई कोभिड कोषमा सहयोग गर्न मन लाग्यो दिएँ ।’ उहाँले भन्नुभयो ।
पूर्व सहसचिव पाण्डे र बन्जाडेको एक महिनाको पेन्सन ३५ देखि ३६ हजार हाराहारीमा हुन्छ । सरकारले कोरोना भाइरस विरुद्धको अभियानको सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारको खाता नं.१९६०००००११०१ मा जम्मा गर्न आव्हान गरिसकेको छ । हालसम्म उक्त खातामा राष्ट्रपति विद्या भण्डारी, सभामुख अग्नि सापकोटा लगायतले योगदान गर्ने घोषणा गरिसक्नुभएको छ ।



3203 पटक हेरिएको 

