सकेसम्म खानेपानी आपूर्तिमा कमी हुन दिने छैनौ : केयुकेएल

काठमाडौ : सरकारले कोरोना भाइरस (कोभिड – १९ ) को सम्भावित सङ्क्रमणबाट बच्न देशभर लक डाउन पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकामा खानेपानीको आपूर्ति र गुणस्तर मापनलाइ निरन्तरता दिइरहेको छ । केयुकेएलले आफ्ना कर्मचारीहरु मार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ ।

लक डाउनको आज तेस्रो दिन बिहिबार केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वमा केयुकेएलको टीमले महांकलचौर शाखा र बाँसबारी शाखाको निरीक्षण गरी खानेपानी वितरण र गुणस्तरको अवस्थाबारे जानकारी हासिल गरेको हो । केयुकेएलको टीमले दुवै शाखामा खानेपानीको गुणस्तर मापन गरेको थियो । खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा छ कि छैन भन्ने परीक्षण गर्दा दुवै शाखामा आवश्यक मापदण्ड रहेको प्रमुख शाक्यले बताउनुभयो ।


लक डाउनको समयमा खानेपानीको अभाव नहोस भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्याङ्कर मार्फत खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिनुभयो । ‘लक डाउनको समयमा मान्छेलाइ चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा खानेपानी नै हो । झन हात धुन र सरसफाइ गर्न पानी नभै हुदैन’ उहाँले भन्नुभयो, ‘यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन । हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौ । दुवै शाखामा राम्रो रहेको पायौ ।’

अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उहाँले बताउनुभयो । ‘खानेपानी मन्त्रालय र मन्त्री ज्यूको बेला बेला हामीलाई निर्देशन प्राप्त भैरहेको छ । मन्त्री ज्यूबाट साथ र सहयोग पाइरहेका छौ । शाक्यले भन्नुभयो ‘यस्तो बेला हामीले कुनै कसर बाकी नराखी काम गरिरहेका छौ र आम उपभोक्तालाई सेवा दिइरहेका छौ, सके सम्म खानेपानी आपूर्तिमा कमी हुन दिन्नौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार