
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु, महासंघका संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारी, सदस्यहरु र सरोकारवालाहरुलाई खानेपानी आपूर्ति २४सैं घण्टा सुचारु गर्न आव्हान गरेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ केन्द्रीय कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (COVID-19) विरुद्धको अभियानका लागि स्वच्छ र सुरक्षित खानेपानी आपूर्ति गर्न आव्हान गरिएको हो ।
महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले आप्mनो खानेपानी आपूर्ति प्रणाली चौबीसै घण्टा सुचारु गराई सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन हार्दिक आव्हान गर्दछौं ।’
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालसँग देशभरिका ४२ हजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु आवद्ध छन् ।
महासंघको १० बुँदे आव्हान :
१.कोरोना भाइरस (COVID-19) विरुद्धको अभियानका लागि स्वच्छ र सुरक्षित खानेपानी आपूर्ति र सरसफाइको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भएकोले सबै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले आप्mनो खानेपानी आपूर्ति प्रणाली चौविसै (२४) घण्टा सुचारु गराइ सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने ।
२.सबै नागरिकलाई नियमित रुपमा हात धुनका लागि सहज हुनेगरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको माध्यमबाट सार्वजनिक स्थानहरुमा समेत हात धुने व्यवस्था मिलाई हात धुने कार्यक्रमहरुलाइ सबै नागरिकसम्म पुग्ने गरी व्यापक प्रभावकारी बनाउने तथा पानी आपूर्ति गर्ने धाराहरुको सुधार तथा विस्तार गर्ने, साथै गर्मीको समय शुरु भई पानीका स्रोतहरुमा पानी घट्ने सम्भावना भएकोले खानेपानीका स्रोत संरक्षणमा समेत विशेष ध्यान दिने ।
३.सम्भव भएसम्म खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्ना सदस्यहरुलाई सामुदायिक स्वास्थ्य सामग्रीहरु (हात धुने साबुन वा हेण्डवास, हेण्ड सेनिटाइजर र माक्स) उपलब्ध गराउनका लागि स्रोत साधनको व्यवस्था गर्ने र यस्ता सामुदायिक स्वास्थ्य सामग्रीहरु वितरण गर्दा विपन्न वर्गलाई प्राथमिकता दिने ।
४.कोरोना भाइरस संक्रमित भनी शंका लागेका व्याक्तिलाई तत्कालका लागि अस्थायी रुपमा क्वारेन्टाइन वा आइसोलेशन (एकान्तवास) गराउनु पर्ने भएमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय रहेका भवनहरु उपलब्ध गराउने ।
५.नेपाल सरकारले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो क्षमता अनुसार सहयोग उपलब्ध गराउने, साथै दैनिक परिश्रम गरी जीवन निर्वाह गर्दै आएका विपन्न परिवारलाई लक डाउनको अवधीमा खाद्यान्नको अभाव भई जीवन निर्वाह गर्न समस्या देखिएमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आधारभूत खाद्यान्न व्यवस्थापनका लागि आवश्यक भूमिका निर्वाह गर्ने र सो को जानकारी महासंघ केन्द्रिय कार्यालयमा पठाउने ।
६.केही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले आप्mना सदस्य उपभोक्ताहरुलाइ खानेपानी महशुल भुक्तानी अनलाईल प्रणालीबाट गर्दै आइरहेकोमा सो को प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था मिलाउने र केही समयका लागि खानेपानी महशुलको बिलम्ब शुल्क नलिने व्यवस्था मिलाउने ।
७.कोरोना भाइरस (COVID-19) बाट जोगिन र फैलिन नदिनका लागि नेपाल सरकार र मातहतका निकायले तयार गरेका प्रचार सामग्रीहरु तथा सोही मापदण्ड अनुरुपका प्रचार सामग्रीहरु प्रयोग गरी सचेतना अभिवृद्धि गर्ने ।
८.नेपाल सरकारले घोषणा गरेको लक डाउनका समयमा पालना गर्नुपर्ने नियमहरु पालना गर्दै उपभोक्ता समितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुले एक अर्काबीच आवश्यक दुरी कायम गरी उच्च सुरक्षा सतर्कता अपनाउदै खानेपानीजस्तो अत्यावश्यक सेवा प्रवाह गर्ने ।
९.यस महासंघ नेपाल सरकारसंग निम्न आय भएका र दैनिक ज्याला मजदूरी गरी जीवन निवार्ह गर्ने विपन्न समुदायको लागि सरल र प्रभावकारी रुपमा राहत प्याकेज वितरण गरी उनीहरुको जीवनयापनलाई सरल बनाउनुका साथै बजारमा हुने कृतिम अभावलाई नियन्त्रण गरी आम समुदायको जीवन यापन सहज बनाउनका लागि जोडदार माग गर्दछ ।
१०.यस महासंघ क्वारेन्टाइनस्थलमा मापदण्ड अनुरुप खानेपानी तथा सरसफाइको प्रवन्ध मिलाई त्यहाँ रहेका व्यक्तिहरुको स्वास्थ्य तथा उनीहरुबीच रोग सर्न नदिन सचेतता अपनाउन माग गर्दछ ।


2377 पटक हेरिएको 

