भक्तपुर : बस्तीको चारैतिर हरियाली बातावरण, वस्तीको बीचमा ढलान गरिएको सडक, सडक किनाराको ठाउँ – ठाउँमा छन्, फोहोर राख्ने भाँडो । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ६ स्थित नगरकोट फेदीमा पुग्दा देखिने दृश्य हुन् यी ।
खरिपाटीबाट धुलाम्मे सडक छिचोलेर नगरकोट फेदीमा पुग्दा, जो कोहीलाई अरु ठाउँभन्दा फरक ठाउँ हुन कि भन्ने लाग्न सक्छ । हुन पनि नगरकोट फेदी पूर्ण सरसफाइ तर्फ अग्रसर नमुना समुदाय हो ।
हेर्नुहोस् यो भिडियो रिपोर्ट :
सबै घरपरिवारले चर्पीको समुचित प्रयोग गरेको, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने गरेको, सुरक्षित पानीको प्रयोग भएको, समुदाय भित्रको सबै घरधुरीले कुहिने र नकुहिने फोहोरलाई छुट्याउने गरेको लगायत थुप्रै विशेषता छन्, नमुना समुदायको । यसको रेखदेख गर्नका लागि मूल समिति बनाईएको छ । नगरकोट फेदी नमुना बस्तीकी संयोजक रुपा लामिछाने भन्नुहुन्छ ‘हामीले निगरानी गर्ने गरेका छौं, हरेक शनिबार वा आफूलाई पायक परेको समयमा बस्तीको निगरानी गरी कसैको घरमा सरसफाइमा कमी पाएमा सम्झाउने बुझाउने र नमुना बस्तीको बारेमा जानकारी गराउने गर्छौ ।’
पूर्ण सरसफाइतर्फ अग्रसर नमुना बस्तीमा ६२ घरपरिवार समेटिएका छन् । नमुना समुदायका हरेक घरले शौचालयदेखि भान्छाकोठा सम्मको न्यूनतम सूचक पूरा गरेकै हुनुपर्छ । यसको पालना भए नभएको अनुगमन गरी सल्लाह सुझाव पेश गर्न अनुगमन समिति पनि बनाईएको छ । समितिले व्यक्तिगत, घरायसी, वातावरणीय सरसफाइका सूचकहरु पूरा गरे नगरेको अनुगमन गर्ने गरेको अनुगमन समितिका संयोजक श्रीराम लामिछानेले बताउनुभयो । ‘पूर्ण सरसफाइ उन्मुख नमुना समुदायमा हुनुपर्ने सूचकहरु पूरा भए नभएको बारेमा हामीले अनुगमन गर्छौ र सल्लाह सुझाव दिने पनि दिने गरेका छौं’ संयोजक लामिछानेले भन्नुभयो ।

अनुगमन गर्दा देखिएका कमीकमजोरी अनुगमन समितिले औल्याउँछन् । यसलाई कार्यान्वयन गराउन मूल समिति र उपसमिति खटिन्छन् । समितिले लिएको नीति नियमलाई कार्यान्वयन गर्न ७ देखि १० घर समेट्ने गरी उपसमितिहरु पनि बनाईएको छ । उपसमितिका संयोजकहरु मध्येकी एक निर्मला बाँस्तोला भन्नुहुन्छ ‘कसैले नजानेर फोहोर फालिरहनु भएको छ भने यसरी फाल्ने होइन भनेर सम्झाउँछौं ।’ उहाँका अनुसार कार्यालयका कर्मचारी र विद्यार्थीहरुको समेत बिदाको दिन पारेर हरेक शनिबार टोल, धारा, सडक किनारा सरसफाइको काम समेत उपसमितिले गर्दै आएको छ ।
नगरकोटफेदीलाई सरसफाइमा नमुनायोग्य बनाउन, भाँडा माझ्ने स्लाब र भाँडा सुकाउने चाङ हुनुपर्ने, करेसाबारीको निर्माण, व्यवस्थापन र उपयोग गरेको हुनुपर्ने, जैविक खेतीलाई प्रबद्र्धन गरी सफा, स्वच्छ, वातावरण सहितको समुदाय बनाउनुपर्ने लगायत थुप्रै नियमहरु बनाईएको छ । जसलाई नगरकोट फेदीमा बसोबास गर्ने समुदायको आमभेलाले अनुमोदन गरिसकेको छ ।
ग्लोबल स्यानिटेशन फण्ड/यूएन ह्याबिट्याट र चाँगुनारायण नगरपालिकाको साझेदारीमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत नगरकोट फेदी समुदायलाई पूर्ण सरसफाइतर्फ अग्रसर नमुना समुदायको रुपमा विकास गर्न थालिएको हो । पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत नगरपालिकाले हरेक वडामा एक– एक वटा नमुना समुदाय विकास गरिरहेको ग्लोबल स्यानिटेशन फण्डरयूएन ह्याबिट्याट र चाँगुनारायण नगरपालिकाको साझेदारीमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रमका पालिका संयोजक सुरेन्द्र लामिछानेले बताउनुभयो ।


1650 पटक हेरिएको 

