रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाको दोभानमा बर्षौ अघि बनेको खानेपानी तथा सरसफाइ आयोजना छ, जसले बर्षौदेखि नियमित रुपमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । दोभान खानेपानी तथा सरसफाइ आयोजना नाम दिईएको यस खानेपानी आयोजनाले २५ वटा सामुदायिक धारा मार्फत १५७ घरपरिवारका करिब ९०० जनालाई नियमित खानेपानी आपूर्ति गर्दै आएको छ ।
डिपबोरिङ प्रविधिमा आधारित यो खानेपानीले नियमित सेवा प्रदान गर्न सक्नुमा यसको असल व्यवस्थापन हो । थोरै घरलाई खानेपानी सेवा उपलब्ध गराएको भएपनि दोभान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दिगोपनाको अवधारणालाई अंगीकार गरेको छ । अन्यत्र सामुदायिक धाराको संरक्षणका लागि कसैले ध्यान दिएको पाईदैन । तर दोभान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हरेक सामुदायिक धारामा आमा बच्चा धारा समूह गठन गरी यसको रेखदेख र सरसफाइको जिम्मेवारी प्रदान गरिएको छ ।
हरेक घरबाट मासिक १२५ रुपैयाँ खानेपानी महसुल उठाइन्छ । संकलित रकम पानी पालेका लागि मासिक ३ हजार र बाँकी रकम मर्मत सम्भार कोषमा जम्मा गरिन्छ । उपभोक्ता समिति सँग एक दुई पटक जटिल प्रकारको मर्मत सम्भार समेत गरिसकेको अनुभव छ । यसबाट खानेपानी तथा सरसफाइ आयोजनाको दिगोपनाका लागि मर्मत सम्भार कोषको महत्वबारे उपभोक्ता समितिले राम्ररी बुझेको छ ।
हामीले दोभान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व अध्यक्ष जीत बहादुर विश्वकर्मासँग खानेपानीको दिगोपनाको सेरोफेरोमा कुराकानी गरेका छौं ।
हेरौं यो भिडियो :


1239 पटक हेरिएको 

