बाजुरा : सदाको आइतबार झैं आज बिहान पनि बाजुरा सदरमुकाम मार्तडीका महिलाहरु सरसफाइ गरिरहेका थिए । हातमा पञ्जा र मुखमा मास्क लगाएका महिलाहरु मनमनै भन्दै थिए ‘नाक थुन्न मिल्ने भएपनि हुन्थ्यो ।’ हुन पनि हावाले नालीमा जम्मा भएको प्लाष्टिकले फोहोरपानीलाई सललल बग्न नदिँदा निक्कै दुर्गन्धित भएको थियो ।
दिदीबहिनीहरु नाली सफा गर्दै गफिदै थिए ।
त्यत्तिकैमा ढाका टोपी लगाएका, खुट्टामा चप्पल र मास्कले मुख छोपेका एक जना अग्ला पुरुष दिदीबहिनीहरु नजिकै आएर उभिए । केही नबोली एकैछिन उभिएपछि नाली सफा गर्दै गरेका दिदीबहिनी झस्किए पनि । मास्कले मुख छोपेकाले उहाँहरुलाई सुरुमा त को हो ? चिन्न पनि मुश्किल पर्यो । बोल्न थालेपछि मात्र बल्ल थाहा भयो, उहाँ हुनुहुँदोरहेछ बढीमालिका नगरपालिकाका मेयर पदम बडुवाल ।
‘सुरुमा त मेयर भनेर चिन्न पनि मुश्किल पर्यो’ बजार सरसफाइको अगुवाई गर्दै आउनुभएकी जाल्पा शाहीले भन्नुभयो ‘बोल्न थालेपछि मात्र उहाँलाई चिनें, हामीले त साप्ताहिक रुपमा बजार सरसफाइ गर्दै आएका छौं, मेयर आफै सरसफाइमा सहभागी भएपछि हामीलाई हौसला मिलेको छ ।’
कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएपछि गाउँ गाउँमा सरसफाइले तीब्रता पाएको छ । सोही अनुरुप मार्तडी बजारमा साप्ताहिक रुपमा सरसफाइ गर्दै आएको शाहीले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा भाग लिए पछि मेयर बडुवालले व्यवस्थित सडकका कारण सदरमुकाम सफा बन्दै गएके र अझै व्यबस्थित र सुन्दर बनाईने बताउनुभयो । सदरमुकाम सफा र सुन्दर भए अन्य ठाउँले पनि यसको सिको गर्ने भएकाले पहिलो चरणमा सदरमुकाम केन्द्रित सरसफाइ अभियान सञ्चालन भईरहेको उहाँले बताउनुभयो । मेयर बडुवालले कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित साबुन पानीले हात धुनुपर्ने, व्यक्तिगत तथा घरायसी सरसफाइमा ध्यान दिनुपर्ने र स्वस्थकर खानेकुरा मात्र खानुपर्ने बताउनुभयो ।
फोटो : बडिमालिका खबरबाट ।