
काठमाडौ : कलंकी स्थित एलआरआई स्कुलले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी एवं सुदुरपश्चिम प्रदेश सरकारलाई विभिन्न सरसफाइ सामग्री सहयोग गरेको छ । स्कुलको सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नगरपालिका – १० अन्तर्गत फोहोरमैला सरसफाइ तथा ब्यवस्थापन कार्यमा खटिने कर्मचारीलाई २८ थान पिपिइ, २८ थान पन्जा र १४ थान फ्लोरिसेन्ट ज्याकेट प्रदान गरेको हो । उक्त सरसफाइ सामग्री स्कुलका प्राचार्य डा.देबकान्त जोशीले वडाध्यक्ष सुन्दर केसीलाई हस्तान्तरण गर्नुभयो ।
यस्तै विद्यालयले काठमाडौं महानगरपालिका – १४ अन्तर्गत फोहोरमैला सरसफाइ तथा ब्यवस्थापन कार्यमा सहभागी कर्मचारीलाई पनि २८ थान पिपिइ र २८ थान पन्जा उपलब्ध गराएको छ । ती सामग्री १४ नं. वडाका अध्यक्ष शोभा सापकोटालाई हस्तान्तरण गरिएको छ । विद्यालयका मुख्य लेखा अधिकृत दिपक जोशी, प्लस टु निर्देशक पुस्करनाथ फुलारा र अतिरिक्त क्रियाकलाप संयोजक जयराम खड्काले ती सामाग्री हस्तान्तरण गर्नुभयो ।
एलआरआई स्कुलले सुदुरपश्चिम प्रदेश सरकारलाई पनि ५० थान बेडसेट हस्तान्तरण गरेको छ । स्कुलले कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनलाई उक्त बेडसेट हस्तान्तरण गरिएको स्कुलका प्राचार्य डा.देबकान्त जोशीले जानकारी दिनुभयो । ती सामग्री एलआरआई स्कुलका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई हस्तान्तरण गर्नुभयो । अन्य प्रदेशको तुलनामा सुदुरपश्चिम प्रदेश कोरोनाबाट बढी प्रभावित भएकाले प्राथमिकता दिएको उहाँले बताउनुभयो । ‘थोरै भए पनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको हो ।’ उहाँले भन्नुभयो ।
एलआरआई स्कुलले यसअघि नै नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरिसकेको छ । स्कुलले सुदुरपश्चिम प्रदेश सरकारलाई समेत १५ हजार थान सर्जिकल पञ्जा यसअघि नै हस्तान्तरण गरिसकेको छ ।


1010 पटक हेरिएको 

