काठमाडौ : काठमाडौंको पुतलीसडक हरेक वर्षायाममा सँधै ढलमग्न हुन्छ । काठमाडौंका अन्य सडक चुस्त अवस्था भएका बेला पनि पुतलीसडकमा सधैँ खाल्डाखुल्डी भइरहन्छ । ढल फुट्ने समस्याले अत्यधिक सताएपछि सडक विभागले लकडाउनकै समय पारेर पुतलीसडकको ढल स्तरीकरण गर्न थालेको छ ।
सरकारले तोकेको सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर कामदार बीच भौतिक दुरी कायम गरेर काम भइरहेको सडक विभागले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर विभागले पुतलीसडकमा नयाँ ढल बिछ्याउने गरी काम थालेको हो । लकडाउनकै समयमा ढल बिछ्याइसक्ने गरी काम सुरु भएको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो ।
‘पुतलीसडकमा वर्षायाममा पानी पर्नासाथ भेल उर्लिन्छ, त्यो समस्या हटाउने गरी ढल बिछ्याउन थालेका छौँ, त्यसपछि वर्षामा यो सडकमा वर्षौँदेखि रहेको समस्या हल हुन्छ,’ उहाँले भन्नुभयो’आवागमन प्रभावित हुने गरी गर्नुपर्ने काम यही लकडाउनभरि गरिसक्ने लक्ष्य छ ।’
उहाँका अनुसार कमलपोखरीको कुमारी मन्दिरदेखि शंकरदेव९टुकुचा०सम्म नयाँ ढल प्रणाली जोड्न लागिएको हो । केयूकेएलले नै गरेको डिजाइनका आधारमा सडकले ढल बिछ्याउन लागेको हो । यो कामका लागि पीआर इन्फ्रास्ट्रक्चरले ८ करोडको ठेक्का पाएको छ । ‘यो काम अलिक अघि नै सुरु हुनुपर्थ्यो, तर सुरुमा स्थानीयले अवरोध गरे,’ नेपालीले भन्नुभयो ’अहिले काठमाडौं महानगरपालिकाको समन्वयमा विवाद समाधान गरेर काम थालेका छौँ ।’
यो काम सकिएपछि वर्षमा पुतलीसडक डुवानमा पर्ने समस्या हल हुने दाबी विभागको छ । अहिले जतिपटक मर्मत गर्दा पनि चुस्त बन्न नसकेको सडकको अवस्थामा पनि सुधार आउने र स्थानीय, व्यवसायी र आवातजावत गर्ने सर्वसाधारणले पनि यसबाट लाभ पाउने प्रमुख नेपाली बताउनुहुन्छ । यो खबर अनलाइन खबरले प्रकाशन गरेको छ ।
‘लकडाउनकै मौकामा संवेदनशील काम गरिसकौँ भनेर निकै दुःखका साथ जनशक्ति खोजेर ल्याएका छौँ, तर निर्माण सामग्रीको अभावको समस्या परिरहेको छ । समस्या समाधानका लागि पहल भइरहेको छ ।’उहाँले भन्नुभयो ।