
हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियान, भरतपुर (चितवन) देशभरिको स्वास्थ्य संस्था क्षेत्रमा सामूहिक जनसहभगितामा सरसफाइ गर्ने उद्देश्य लिएको अभियान हो । City of hospitals भनेर चिनिने भरतपुर चितवनको मुख्य गरी बी.पी कोइराला क्यान्सर हस्पिटल, भरतपुर केन्द्रीय अस्पताल, पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज, आँखा हस्पिटल लगायतको क्षेत्रहरुमा हरेक साताको शनिबार बिगत दुइ बर्षदेखि अभियान चलिरहेको छ । यति बेला कोरोना संक्रमणको कारण हामीले अभियान स्थगित गरेका छौँ । स्वास्थ्य संस्था र त्यो सँग जोडिएको सरसफाइ अभियान भएकाले पनि अरु अभियान भन्दा यो अभियान अलि फरक छ ।
गएको ५र६ महिना अघि चितवनमा डेङ्गुको महामारी थियो । देशभरिको डेंगू संक्रमितको बिगबिगी लगभग भरतपुरमा बढी भयो । हामी अभियन्ताहरुले आफ्नो ज्यान जोखिममा राखी हस्पिटल क्षेत्रमा सरसफाइ अभियान जारी राख्दै पानी जम्ने खाल्डा खुल्डी पुरेर सर्बप्रथम हस्पिटल क्षेत्र सफा र हाइजेनिक बनाउन पहल गर्यौं र केही समय पछि डेङ्गु पनि अन्त्य भयो ।
अहिले परिस्थिति फेरिएको छ ।
डेङ्गु सँग डटेर सामना गरियो । अब कोरोनासँग हटेर सामना गर्नुपर्ने स्थिति आयो । हाम्रो अभियानमा धेरै जसो स्थानिय महिला दिदी बहिनी, दाजुभाइहरु लगायत धेरै संघसंस्था, बिद्यार्थी र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी गरी कम्तीमा ६० जना र बढीमा ३०० जना जति जनसहभगिता रहन्थ्यो । सञ्चार माध्यम मार्फत कोरोनाका बिषयमा जानकारी पाई राखेको थिएँ । छिमेकी राष्ट्र चीन लगायत विभिन्न मुलुकमा दैनिक सयौँ संख्यामा संक्रमण बढ्न थालेपछि हामी पहिले नै सजग हुन जरुरी भएकाले कोरोना बाट बच्न पूर्व तयारी गर्दै भरतपुर हस्पिटलका पूर्व मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ डाक्टर कृष्ण प्रसाद पौडेल सहितको टिमलाई निमन्त्रणा गरी कोरोनाबाट बच्न पूर्व तयारी कार्यक्रम गर्यौं ।
बिकसित देशहरुले पनि हार खाएका र कुनै औषधी नभएकाले, एक मात्र बच्ने उपाय भनेकै सेल्फ आइसोलेसन, आफू बच्ने र अरुलाई बचाउने, भीडभाड त झन गर्नै भएन भन्ने निष्कर्ष निस्क्यो । हाम्रो अभियान पनि स्वास्थ्यसँग सीधै जोडिएको भएको एवं हामी स्वास्थ्यको लागि सरसफाइ गर्छौ भने भीड़ गर्नु हुदैन भन्ने हाम्रो सोंच बन्यो । हामी हाम्रो अभियानको अभिभावक एवं सरसफाइ अभियन्ता धीरेन्द्र साह, रञ्जिता श्रेष्ठ खत्री, श्रुति सिंह, सीता भट्टराई, रूबी झा लगायत सँग पनि सल्लाह सुझाव लिएर अन्तिम निष्कर्षमा पुग्यौं ।

हामीले हस्पिटल क्षेत्र सरसफाइ अभियान स्थगित गर्ने घोषणा ग¥यौं । सरसफाइ अभियान पनि कहिले रोक्ने कहिले चल्ने हुन्छ ? अरु अभियान त रोकिएको छैन किन स्थगित गर्यौं ? अभियानले निरन्तरता दिन सकेन ! भन्ने जस्ता प्रतिक्रिया पनि आए, कसैले ठिक गर्यो पनि भने, कसैले गाली पनि गरे । हामी चिन्तित भएनौँ । हामीले सोच्यौं, हाम्रो अभियान अलि फरक छ, एक त स्वास्थ्यसँग जोडिएको छ त्यसमाथि महिला एवं बालबालिकाको पहलमा हुने गरेको अभियान अरु अभियानले के गर्ला अनि त्यसै गरौंला भन्ने त कुरा नै आएन । आफू स्वस्थ भए न सरसफाइ गर्न सकिन्छ । आखिर सरसफाइ पनि हाम्रै लागि त हो । आत्मविश्वासले आफ्नो निर्णय माथि अडिग भएँ । त्यसको ठिक तीन दिन पछि नेपाल सरकारले लककडाउन पनि घोषणा गर्यो ।
लकडाउनपछि त सजग नागरिकको नाताले भीड़ न होस त्यसको नैतिक जिम्मेबारी पनि हाम्रो भयो । हाम्रो फेसबुक आग्रह लाई देशभरिको विभिन्न अभियानले आत्मसात गरेर स्थगित पनि गरियो । लकडाउनको पहिलो हप्ता देश भरिका निरन्तर चलिरहेका केही सरसफाइ अभियानहरु पनि अभियान गरेर स्थगित गरिए, त्यसपछिको हप्ता कसैले अ–आफ्नो घर वरिपरि सफा गरेको पोष्ट राख्नुभयो । WHO ले पनि सबै देशहरुमा रिसर्च गर्दै उच्च सावधानी अपनाउन र लकडाउन गर्न आग्रह गरेको छ । हामीले धेरै त गर्न नसकौंला तर हाम्रो हातमा भएको हामीले गर्न सक्ने अठोट गरौँ ।
छिमेकी राष्ट्र भारतमा सानो सुझबुझ नभएको कारण आज सयौँ मानव कोरोना संक्रमित हुनु भएको छ र धार्मिक द्वेषको माहोल बनेको छ । म त्यसको निन्दा गर्छु । यो संक्रमण कसैले सोंचेर फैलाएको होइन । टोलहरुको सजग नागरिक, स्थानीय प्रशासन एवं वार्ड स्तरीय जनप्रतिनिधिहरुको समयमा सजगता एवं कोरोना महामारीको विकरालतालाई सामान्य मूल्यांकनको परिमाणले आज हामी चिन्तित छौँ । तर यो समय धैर्यता, आपसी भाईचारा कायम गरेर पीडि़त छिमेकीलाई सहयोग र सहकार्य गर्ने समय हो ।
हामी एउटा सजग नागरिक भएको कारण लकडाउनको पूर्ण पालना गरेर घरमा आफ्नो परिवार सँग आनन्दमय तरिकाले बस्ने र कोरोना विरुद्धको अभियानको सफल योद्धा हुन प्रयास गर्न सम्पूर्ण दाजुभाई र दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु ।
हामी कोरोना सँगको लड़ाईमा जितेर माहौल सामान्य भएपछि सरसफाइ अभियानमा निःस्वार्थ, साझा नेतृत्व र सबै संघसंस्थाको सामूहिकतामा अभियान गर्ने र भेट्ने वाचा गर्दछु । जय सरसफाइ
लेखक भरतपुर हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियन्ता एवं युवा संजाल भरतपुर महानगरपालिकाको सह संयोजक हुनुहुन्छ ।


6773 पटक हेरिएको 

