एघार बर्ष अघिको ‘जाजरकोटमा भाँजो’ यत्तिबेला झनै सान्दर्भिक

🔗
18
Shares

देशमा यत्तिबेला कोरोना भाइरस फैलँदो छ । एक महिनाकै बीचमा कोरोना संक्रमित ४५ जना पुगेका छन् । हुन त ती मध्ये ७ जनाले कोरोनासँगको लडाइमा जीत हासिल गरेर घर फर्किसकेका छन् । अहिले देशमा कोरोना महामारी फैलिए जस्तै आजभन्दा ११ बर्ष अघि अर्थात सन् २००९ को जुलाई महिनातिर जाजरकोटमा हैजा फैलिएको थियो । हैजा फैलिएको तीन महिना भईसक्दा पनि नियन्त्रणमा नआएपछि त्यसबेला भन्दा करिब ४५/४६ बर्ष अघि तनहुँको भाँगे भन्ने गाउँमा फैलिएको हैजाको घटनालाई लिएर गोविन्द अधिकारीले एउटा लेख तयार पार्नुभएको थियो । उहाँले ११ बर्ष अघि लेख्नुभएको लेख आज पनि उत्तिकै सान्दर्भिक छ । रोगको संक्रमण फैलिन नदिन भौतिक दुरी कायम गर्ने चलन चाहिं आज भन्दा ५० /६० बर्ष पहिले पनि रहेछ । एकैछिन समय निकालेर यो लेख पढ्नुहोस् त ।

झम्के साँझमा कटुवाल करायो ! ‘सुनिन भन्न पाइने छैन !’ त्यसभन्दा पहिलेका अरु कुरा मैले बुझिन। भाँगे हैजा र भाँजो भन्ने ३ वटा शब्द भने अझै सम्झेको छु । करिब ४५ / ४६ वर्ष पहिलेको कुरा हो । पृथ्वी राजमार्ग नबन्दैको । अहिलेको आँबुखैरेनीमा त बस्ती नै थिएन । त्यसमाथिको डाँडा उता आँबु गाउँ छ । भाँगे आँबु नजिकैको अर्को गाउँ हो । आँबुमा बाहुन क्षेत्री नेवार मगर दमाई र कामी थिए । भाँगेमा मगर र कामी मात्रै थिए । त्यही गाउँमा झाडाबान्ता सल्केछ । गोर्खालीको नुनतेल खेप्ने बाटोमा पर्ने भाँगेमा हैजा कसरी सल्क्यो थाहा भएन तर भँगेलीहरु धमाधम मर्न थालेपछि आँबुलेलाई डर लाग्यो ।

केही औषधि लिएर खाना खाइवरी उनी फेरि भाँगे जान लाग्दा आँबुमा रोकिएका थिए । मेजरले आँबुलेलाई भने ‘तपाइँहरुले भँगेलीलाई भाँजो हाल्नु भएछ तर म त हैजालाई भाँजो हाल्न जान लागेको।’

आँबु गाउँमा कटुवालले सबैलाई भोलिपल्ट बिहानै घरको एक जनाका दरले जम्मा हुन ऊर्दी गर् यो । गाउँलेलाई हैजाबाट जोगिने उपाय सिकाउन वा छिमेकी गाउँको मद्दत गर्न बोलाइएको होइन रहेछ । हैजाबाट जोगिने उपाय भनेको भाँगे जान आउन बन्द गर्नु हो भन्ने उनीहरुले जानेका थिए । यसैले आँबु र भाँगेबीच पर्ने सिउदी खोलामा भाँजो हाँल्न गाउँलेलाई ऊर्दी गरिएको रहेछ । उनीहरुले आफू जोगिने आदिम उपाय अपनाए  ‘भाँगे जाने बाटोमा भाँजो हाल्ने।’

भाँजो हालेर फर्केकाको कुरा सुनेर थाहा पाएको थिएँ सिउदी खोलामा हालेको फड्के पनि पाकाहरुले छेक्दाछेक्दै तन्देरीहरुले भत्काइ दिएछन्। भाँजो हालेर र फड्के भत्काएर आएपछि आँबुलेले आफू जोगिएको ठाने।


भाँगेको हैजा थामिएन। सदरमुकाम र स्वास्थ्य संस्था बन्दीपुरमा थियो । त्यहाँ खबर कसैले गरेन क्यारे । कोही आएको थाहा पाइएन । गरे पनि के पो हुन्थ्यो होला र भाँगेको हैजाले महामारीको रुप लियो । आँबु र त्यसभन्दा पश्चिमका गाउँमा त्यहाँका चेलीबेटी आएका थिए । त्यसैगरी यताका चेलीको पनि बिहाबारी भाँगेमा भएको थियो । तिनीहरु कसैले पनि भाँजो भत्काएर भाँगे जाने आँट गरेको थाहा भएन । हैजा आँबुसम्म आइपुगेन तर भाँगेमा भने मर्नेहरुको संख्या बढ्दै गएको सुनिन्थ्यो ।

यस्तैमा एक दिन कटुवालले फेरि उर्दी गर् यो । यान्चोकका नरबहादुर बाचे मगर भाँजो भत्काएर भाँगे गएछन् । अनि भाँगेबाट उनी आँबु गाउँ हुँदै यान्चोक फर्केछन् । आँबुलेले यसलाई गाउँकै अपमान भएको ठाने । त्यतिमात्र हैन उनले आँबुलेलाई हैजा लाग्ने बाटो पनि खोलिदिए । गाउँका ठालुलाई सहिनसक्नु भयो । त्यसैले उनीहरुले गाउँले जम्मा गरे । अनि उक्साए ‘यसरी हैजा लागेको ठाउँमा गएर हाम्रो गाउँको बाटो फर्कन पाइँदैन । यस्तो हेपाइ सहन हुँदैन । अब हामीलाई पनि हैजा लाग्न सक्छ ।’ गाउँमा निकै खलबल भयो । नरबहादुर त्यो दिन पनि बिहानै त्यही बाटो भाँग जान आउने भनेकाले सबै जम्मा भएर बसे।

गाउँ नजिकै आइपुगेछि नरबहादुरको घोडाको घन्टी सुनियो । सबै टाठा भए । भोटेको चौतारामा सबै जम्मा भएर बाटो छेकेर बसे । नरबहादुरले बाटो छेकिएको देखेर घोडा रोके। ओर्लेर गाउँका ठूलाठालुलाई उमेरअनुसारको अभिवादन गरे । अनि त्यसरी जम्मा हुनुको कारण साधे । गाउँलेहरु उनको व्यक्तित्वका कारण अलि हच्के तर बिस्तारै मुख फोरे  ‘हामीले हालेको भाँजो किन भत्कायौ हैजा लागेको ठाउँमा गएका मान्छे यसरी गाउँमा पस्न पस्न पाइँदैन।’

मेजर नरबहादुर थापा भर्खर पेन्सनमा आएका थिए। खाइलाग्दा र फरासिला थिए । उनले ब्रिटिस गोर्खामा छँदा मेडिकल कोर्स गरेका रहेछन्। हैजाको उपचार हुन्छ भन्ने उनले जानेका थिए। मान्छे मरिरहँदा तमासा हेर्न हुँदैन र आफूले सकेको सबै सहयोग गर्नुपर्छ भन्ने मानव धर्म उनलाई मेडिकल तालिमका बेला सिकाइएको रहेछ। त्यसैले भाँगेमा हैजा फैलेको थाहा पाएपछि उनले आफूलाई रोक्न सकेनछन्। उनका गाउँलेले पनि त्यहाँ जान नहुने र गएमा गाउँमा फर्कन नपाइने अत्तो थापेका रहेछन्। हैजा लागेको गाउँमा गएर फर्कँदैमा रोग सल्कने हैन भन्ने देखाउन मेजर घरैमा बस्न आएका रहेछन् । केही औषधि लिएर खाना खाइवरी उनी फेरि भाँगे जान लाग्दा आँबुमा रोकिएका थिए । मेजरले आँबुलेलाई भने ‘तपाइँहरुले भँगेलीलाई भाँजो हाल्नु भएछ तर म त हैजालाई भाँजो हाल्न जान लागेको।’

मेजरको भनाइले चित्त नबुझेकाहरुले उनलाई भने ‘ल भैगो ! भाँगे गए पनि हाम्रो गाउँको बाटो हिँड्न त भएन नि ।’ मेजरले मूल बाटो भएकाले त्यही बाटो आवतजावत गर्न पाउने जिकिर गरे । छलफलमा मेजरले जित्दै गएपछि आँबुका केही ठालुबीच पनि मतभेद सुरु भयो । मगरहरु मेजरका पक्षमा भए । उनीहरुका चेलीबेटी भाँगेमा जो थिए । अनि अरु अलि कम उमेरका जतिले पनि मेजरलाई समर्थन गरे । अन्ततः मेजरले जिते । भाँजो झिकियो । फड्के हाल्न मेजरलाई सघाउन केही सिउदी खोलासम्म गए । भाँगेमा मेजरले सबैलाई सुई दिएका थिए रे । र उनले पानी र खानेकुरा खानुपर्छ भनेका थिए रे । बिस्तारै भाँगेको हैजा साम्य भयो । भाँजो हाल्नेहरु हारे ।

जाजरकोटमा कुनै मेजर नरबहादुर थापा निस्केनन् जस्तो छ । यद्यपि नेपाली सेना र माओवादी सेनाका जनस्वास्थ्यकर्मी सँगै उपचारमा सक्रिय तस्बिर हेर्दा आँखा रसाए । रोग सुरु भएको ३ महिनासम्म साम्य नहुँदा र दुई सय जना भन्दा बढीको ज्यान गएकाले केन्द्रीय र स्थानीय प्रशासनले भाँजो हालेर त्यहाँबाट पन्छन खोजेजस्तै लाग्यो । प्रधानमन्त्री वा अरु मन्त्रीको भ्रमणले पनि यो मानसिक भाँजो हटाएको आभाष भएन ।

मेजर नरबहादुर थापाहरुले नभत्काएसम्म हाम्रो पद्धति संस्कृति र व्यवस्थाले हालेको भाँजोले निर्धाहरुको बाटो छेकी नै रहनेछ । जाजरकोटेहरु मरिनैरहने छन् । स्वयंसेवकहरुको समूह बनाएर सरसफाइ सिकाउन र खानेकुरा पुर् याउन सके मर्नेहरुको संख्या घट्ने थियो । सरकारको नियम र स्वभावले हालेको भाँजो भत्काउने काममा नेपाल रेडक्रसले नेतृत्व गरे कति राम्रो हुन्थ्यो ! छ कसैमा मेजर नरबहादुर थापा हुने आँट ?

जाजरकोटमा फैलिएको हैजाका कारण मानिस मर्ने क्रम नरोकिएपछि गोविन्द अधिकारीले यो लेख लेख्नुभएको थियो । यो लेख सन् २००९ को जुलाई २६ मा नागरिक न्यूज डट कम मा प्रकाशित भएको थियो । यो लेख आज पनि उत्तिकै सान्दर्भिक भएकाले हामीले साभार गरी प्रकाशन गरेका हौं । – सम्पादक

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार