चुनौतिका चाङबीच पूर्ण सरसफाइ प्रबर्द्वनको निरन्तरता

विनोद धौलागिरि, विराटनगर : करिब चार महिनाअघि विश्वमा कोरोना भाइरसको चर्चा चल्यो । तीन महिना अघिदेखि नेपालमा समेत यसको चर्चाले छपक्कै छोप्यो । दुई महिनाअघि नेपालमा यसको बारेमा विभिन्न सरकारी निकायले प्रचारात्मक कार्यको थालनी गर्नुअघि नै पूर्ण सरसफाइ अभियान सहजकर्ताहरु कोरोनाबाट बच्नका लागि प्रत्येक जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने वानीको प्रबर्द्वनमा केन्द्रित हुन थाले । चर्पीको समुचित प्रयोग, घरायसी सरसफाइ प्रबर्द्वन, हात धुने वानीको निरन्तरता, पानीको शुद्धीकरण, महिनावारी सरसफाइ प्रबर्द्वन लगायतका विषयमा समुदाय सहजीकरण गरिरहेका पूर्ण सरसफाइ अभियान सहजकर्ताहरुले पहिलो चरणमा साबुन पानीले हात धुने निश्चित स्थान बनाउने अभियानमा जुट्न थाले ।

समुदायमा जान पाउने अवस्था रहुन्जेल त उनीहरुलाई समस्या भएन । कोरोना संक्रमणबाट समुदायलाई बचाउनका लागि सरकारले लकडाउन घोषणा गरेपछि भने पूर्ण सरसफाइ अभियान सहजकर्ताहरुमाथि चुनौतिका चाङ थपिन थाले । एकातर्फ कोरोनाबारे सचेतीकरण गर्नुपर्ने सामाजिक दायित्व, अर्कोतर्फ घरबाट बाहिर निस्कन नपाउने अवस्था ।

सुरुका दुई चार दिन त उनीहरुले टेरेनन्, समुदायमा पुगिरहे, साबुन पानीले हात धुने, घरायसी र व्यक्तिगत सरसफाइ कायम राख्ने र भौतिक दूरी कायम राख्ने विषयमा केन्द्रित भएर समुदाय सहजीकरण गरे । प्रत्येक घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थानको व्यवस्था गर्न लगाए । संस्था, कार्यालय र निकायहरुमा साबुन पानीले हात धुने स्थानको प्रवन्ध गर्नका लागि सहजीकरण गरे । “त्यति बेलासम्म सीमित स्वास्थ्य संस्थामा मात्र सर्वसाधारणका लागि साबुन पानीले हात धुने व्यवस्था थियो, कार्यालयहरुमा त यसको परिकल्पनासम्म गरिएको थिएन”, विराट सामुदायिक अध्ययन केन्द्र झापाको तर्फबाट पूर्ण सरसफाइ अभियानका संयोजक सोमनाथ आचार्यको भनाइ छ, “विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारीको घोषणा गरेपछि वडा कार्यालय, गाउँपालिका, नगरपालिकामा समेत साबुन पानीले हात धुने स्थान बनाउने र प्रचारात्मक कार्यले तीव्रता पायो ।”

साबुन पानीले हात धुने अभियान


अभियानको थालनीका दिनमा, सरसफाइजन्य रोगबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनुपर्छ भन्ने कुरालाई महत्व नै नदिने समुदाय, कोरोनाको सन्त्रासपछि धारा बनाउने टुटी र हात धुने साबुनको खोजीमा दौडिन थाल्यो । स्थानीय तहहरुले मुख्य चोक र बजार क्षेत्रमा साबुन पानीले हात धुने निश्चित ठाउँ व्यवस्था गर्न थाले । पसलेहरुलाई पानी राख्ने साना ड्रम र टुटीको बिक्री भ्याई नभ्याई हुन थाल्यो । साबुन र हात धुने झोल साबुनको बिक्री पनि ह्वात्तै बढ्यो । स्यानिटरीवेयरहरुमा वास बेसिनको अर्डर उच्च भयो ।

“हामीले गाउँपालिकाको तर्फबाट दुई सय पचासभन्दा बढी ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गर्‍यौं”, गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवम् पूर्ण सरसफाइ फोकल पर्सन रामचन्द्र मिश्र भन्नुहुन्छ, “अस्थायी रुपमा भए पनि निर्माण गरिएका हात धुने स्टेशनबाट जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न जोड मिल्यो ।”

स्थानीय तहहरुले सञ्चालन गरेको यस अभियानका मुख्य सारथी बने : पूर्ण सरसफाई सहजकर्ताहरु । “हात धुने स्टेशन तयार गर्नेदेखि समुदायलाई साबुन पानीले हात धुनुपर्ने आवश्यकता, तरिका र यसका फाइदाको बारेमा अभियान नै सञ्चालन गरियो”, गौरीगञ्ज गाउँपालिका, वडा नं. ४ का सहजकर्ता दीलिप ताजपुरियाको भनाइ छ, “स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत उल्लेख्य सहयोग रह्यो ।”

थपिएको जिम्मेवारी

ग्रामीण समुदायमा कोरोनाको बारेमा जानकारी कम र हल्ला बढी फैलिन थालेपछि नै सहजकर्ताको भूमिका फेरिन थाल्यो । कोरोनाको बारेमा पर्याप्त जानकारी लिएर समुदायमा सामाजिक दूरी कायम गर्दै सुचना सन्देश प्रवाह गर्ने काममा सहजकर्ताहरु खटिन थाले । “वडा र स्थानीय तहसँगको समन्वयमा स्थानीय तहमा अभियान नै सञ्चालन गरियो”, पूर्ण सरसफाइ अभियानका गौरीगञ्ज पालिका संयोजक ज्ञानु राजवंशी भन्नुहुन्छ, “हामीले भनेको कुरा राम्ररी सुनून् भन्नका लागि र समुदायको स्वास्थ्य र स्वच्छताको वानी प्रबर्द्वन गर्नका लागि थालनीका दिनमा समुदायलाई साबुन र मास्क लगायतका सामग्री समेत वडासँगको समन्वयमा वितरण गरियो ।”

उनीहरुको भूमिका यत्तिमा सीमित भने भएन । सरकारले लकडाउन घोषणा गरी अत्यावश्यक कामबाहेक हिडडुलमा रोक लगाएपछि सहजकर्ताहरुको दैनिकी फेरियो । सधैं समुदायमा पुगेर सरसफाइ र स्वच्छता प्रबर्द्वनका लागि सहजीकरण गर्ने पूर्ण सरसफाइ सहजकर्ताहरुले टेलिफोनको माध्यमबाट समुदायमा सरसफाइ प्रवद्र्धनको सन्देश प्रवाह गर्न थाले । यसलाई व्यवस्थित गर्ने कार्यमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटले सहयोग पुर्‍यायो । “हामीले सहजीकरण गर्ने प्रत्येक वडामा सुरुमा पाँच पाँच जनाका दरले स्वयंसेवक छनौट गरी उनीहरुलाई सरसफाइ तथा स्वच्छताको बारेमा आधारभूत जानकारी प्रदान गरियो”, नारी विकास संघ मोरङका पूर्ण सरसफाइ कार्यक्रम अधिकृत शर्मिला चौधरीको भनाइ छ, “प्रत्येक स्वयंसेवकले २० घरका दरले त्यहाँको अवस्था अद्यावधिक गर्ने र ती घरधुरीमा आवश्यकता अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छताको बारेमा जानकारी दिने र आवश्यक प्राविधिक सहयोग गर्ने कार्यमा सहयोग गरिरहनुभएको छ ।”

सरसफाइ सहजकर्ता र स्वयंसेवक दुबैले संयृुक्त रुपमा पहिचान गरिएका घरधुरीको विस्तृत विवरण लिएर दैनिक कार्यलाई अद्यावधिक गर्नका लागि मोबाइल एप्लिकेशनको प्रयोग भैरहेको छ । दैनिक तथ्यांक विश्लेषण हुन्छ र आवश्यकताका आधारमा रणनीति परिवर्तन हुन्छ । “जुन घरमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था कमजोर देखिन्छ, त्यो घरमा पुनः टेलिफोनको माध्यमबाट जानकारी गराउने, प्रतिवद्धता लिने र आवश्यक परेमा प्राविधिक सल्लाह दिने काम हुन्छ”, कमल गाउँपालिका, झापाका पूर्ण सरसफाइ पालिका संयोजक सुशील पोखरेलको भनाइ छ, “कुराकानीका क्रममा सरसफाइ र स्वच्छताको अवस्था राम्रो देखिएको घरधुरीमा स्वयंसेवक वा टोल विकास संस्थाका प्रतिनिधिसँग थप एक पटक कुराकानी गरेपछि सो घरलाई टेलिफोनबाट जानकारी दिने काम बन्द गरिन्छ ।”

६ हजार घरमा सन्देश

वर्षौंदेखि बहाना गर्दै चर्पीको मर्मतसम्भार नगर्ने, साबुन पानीले हात धुने निश्चित स्थान नबनाउने र घरायसी तहमा पानीको शुद्धीकरण नगर्ने घरधुरीलाई कोरोना कहरको समयमा सरसफाइ तथा स्वच्छता प्रवद्र्धन गर्न लगाउनु कम कठिन काम होइन । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमसँगको साझेदारीमा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिएका सबै जिल्लामा कोरोना कहरको समयमा सहजकर्ता समुदायमा पुग्न नपाएपछि टेलिफोनको माध्यमबाट समुदायको अवस्था अद्यावधिक गर्ने, उनीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या भए नभएको जानकारी लिने, समुदायमा विदेशबाट आएको कोही सदस्य भएमा सोको विस्तृत जानकारी लिने लगायतका कार्यले कोरोना प्रतिकार्यमा सहयोग पुगेको छ ।

“अहिले कोरोनाको बहाना गरेर पानी शुद्धीकरण गर्न समेत आलटाल गर्ने समस्या भोग्नुप¥यो”, झापा विर्तामोडका सरसफाइ सहजकर्ता टंक भण्डारी भन्नुहुन्छ, “अहिले कोरोनाको सन्त्रास बढ्दै जाँदा समुदाय धेरै सजग बनेको छ ।”

थालनीमा प्रत्येक वडाबाट एक एक सय जनाको विस्तृत जानकारी संकलन गरी सन्देश प्रवाह गर्न थालेका सरसफाइ सहजकर्ताहरुले प्रत्येक साता घरधुरी बढाउँदै लगेका छन् । “हामी अहिले झापाको १४ वडामा तीन हजार घरधुरीमा आवश्यकता अनुसारको सन्देश प्रवाह गरिरहेका छौं”, विराट सामुदायिक अध्ययन केन्द्र झापाका पूर्ण सरसफाइ अभियान संयोजक सोमनाथ आचार्य भन्नुहुन्छ, “यी घरधुरीमध्ये पहिलो चरणमा विवरण संकलन गरिएका १ हजार ४ सय घरधुरीमा अहिले आवश्यकता अनुसार पाचौं पटक सूचना सन्देश दिंदै सरसफाइ प्रवद्र्धन गर्न लगाइरहेका छौं ।”

यसैगरी, मोरङ जिल्लामा समेत पूर्ण सरसफाइ अभियान सञ्चालन भएका १६ वडामा सुरुमा १ हजार ६ सय घरधुरीमा र दोस्रो चरणमा १ हजार ९ सय घरधुरीमा सरसफाइ प्रबर्द्वनका लागि सहजकर्ताहरुले दैनिक प्रयास गरिरहेका छन् । “फोन सम्पर्क गरेर सरसफाइ प्रबर्द्वनको बारेमा जानकारी गराउन खोज्दा राहत माग्नेदेखि सामग्री सहयोग गर्नेसम्मका मागसमेत घरधुरीबाट आउँछन्”, मोरङ बेलबारीका पूर्ण सरसफाइ अभियान पालिका संयोजक रीता कोइरालाको अनुभव छ, “हामीले निरन्तर रुपमा सरसफाइ प्रबर्द्वनको सन्देश दिन थालेपछि बल्ल समुदाय पूर्ण सरसफाइ प्रबर्द्वनका क्रियाकलापमा जुट्न तयार भएको छ ।”

जिम्मेवारीको निरन्तरता

लकडाउनको समयमा पूर्ण सरसफाइ अभियानलाई अझै प्रभावकारी रुपमा सहजीकरण गर्नुपर्ने धारणा राख्नुहुन्छ मोरङमा पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेको संस्था नारी विकास संघका टिम लिडर हिमांशु यादव । “पूर्ण सरसफाइ र स्वच्छतापूर्ण आनिवानी अपनाउन सकेमा कोरोनामात्र नभै अन्य संक्रामक रोगबाट समेत बच्न सकिने भएकोले पनि अहिले सरसफाइ प्रबर्द्वनको सन्देशलाई अझै प्रभावकारी रुपमा विस्तार गरिरहेका छौं”, यादवको भनाइ छ, “संकटको समयमा नै हामी सरसफाइ प्रवद्र्धनमा क्रियाशील सामाजिक अभियानकर्ताहरुको साँचो परीक्षण हुन्छ ।”

चाहे सजिलो अवस्था होस् या कठिन, सरसफाइ सबैका लागि र सधैंका लागि चाहिने विषय भएकोले यस अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुहुन्छ मोरङको रतुवामाई नगरपालिकाका सरसफाइ अभियान सहजकर्ता विमला खतिवडा । “बन्दाबन्दीको समयमा समेत हामीले हाम्रो कामलाई सामाजिक जिम्मेवारी सम्झिएर यसलाई निरन्तरता दिइरहेका छौं”, खतिवडाको प्रतिप्रश्न छ, “सरसफाइ अभियानकर्ता नै सुस्ताए भने समुदायमा स्वच्छता प्रबर्द्वन कसले गर्ने ?”

आफू घरधुरीमा प्रत्यक्ष रुपमा जान नपाएको समयमा पनि सामाजिक अगुवा, जनप्रतिनिधि, टोल समितिका सदस्यहरु, स्वयंसेवक लगायतको सहयोग लिएर सरसफाइ प्रबर्द्वनमा निरन्तर लाग्दा समुदायप्रतिको जिम्मेवारीवोध झनै बढेको बताउनुहुन्छ कमल गाउँपालिकाका पूर्ण सरसफाइ सहजकर्ता लीला आचार्य । “काम गर्न पक्कै सजिलो छैन, चुनौति नै चुनौति थुप्रिएका छन्”, आचार्यको भनाइ छ, “दायित्वको निरन्तरताका लागि लकडाउनको समयमा घरमै बसेर पनि समन्वय र समुदायका अगुवाको सहयोग लिएर काम गरिरहेका छौं ।”

कोरोनाले शताब्दीकै ठूलो पाठ सिकायो : गाउँपालिका अध्यक्ष काफ्ले

वर्षौं अघिदेखि सरसफाइ अभियानकर्ताहरुले गरिरहेको अनुरोधलाई नटेर्ने घरधुरीले समेत अहिले साबुन पानीले हात धोएर मात्र घरभित्र प्रवेश गर्न थालेका छन् । अभियानकर्ताहरुको अनुरोधलाई वेवास्ता गर्नेहरुलाई अहिले कोरोनाको त्रासले सरसफाइ प्रबर्द्वनमा लाग्न वाध्य बनाएको धारणा राख्नुहुन्छ झापाको कमल गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मेनुका काफ्ले । “अहिले पनि सरसफाइ अभियानकर्ताहरुले गाउँपालिकामा समन्वय गरेर सरसफाइ प्रबर्द्वनमा निरन्तर क्रियाशील हुनुहुन्छ”, काफ्लेको भनाइ छ, “सरसफाइ प्रबर्द्वनलाई सामाजिक विकासको सूचक मान्न हिच्किचाउनेहरुलाई कोरोनाले शताब्दीकै ठूलो पाठ सिकाएको छ । सरसफाइ तथा स्वच्छता प्रबर्द्वनलाई सभ्य समाजको सूचक किन मानिएको रहेछ भन्ने कुराको आम बुझाइ भएको छ ।”

सरसफाइ अभियानकर्ताहरुको निरन्तर प्रयासलाई सत्य स्थापित गर्ने सत्कर्मको संज्ञा दिनुहुन्छ अध्यक्ष काफ्ले । “सरसफाइ अभियानकर्ताहरुले टोल समिति, वडा समिति र सामाजिक अगुवाहरुको समेत सहयोग लिएर अहिलेको संकटको समयमा समेत सरसफाइ प्रबर्द्वनमा निरन्तरता दिनु चानचुने काम होइन”, उहाँको भनाइ छ, “एउटा ठूलो सामाजिक सत्य स्थापित भएको छ, हाम्रा शास्त्रले वर्णन गरेको शुद्धताको विषय वास्तवमा सरसफाइ र स्वच्छता नै रहेछ भन्ने फेरि एक पटक प्रमाणित भएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार