यसरी सुल्झियो, ढलभित्र खानेपानीको पाइप छिराएको बिषय

काठमाडौ : सडक विभागले ढल बिछ्याईरहेको काठमाडौको पुतलीसडक क्षेत्रमा केही दिन अघि अनुगमनको क्रममा पुग्दा ढलभित्र खानेपानीको पाईप छिराएको भेटियो । मौजुदा खानेपानीको पाईप ढलभित्र छिराउँदा भोलिका दिनमा ढलबाट सिर्जित ग्याँसका कारण खिया लाग्ने र पाइपमा प्वाल भई खानेपानी प्रदुषण हुने प्रवल सम्भावना थियो ।

ढलभित्र खानेपानीको पाईप छिराएर निर्माण भईरहेको अवस्था

यस बिषयमा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्यको तत्काल ध्यानाकर्षण भयो । उक्त खानेपानी पाइप महांकालचौरबाट पुतलीसडक, बागबजार, असन, भोटाहिटी लगायतको क्षेत्रमा खानेपानी वितरण गर्ने १६ इन्चको मुख्य पाइपलाइन हो ।

सडक विभागलाई त्यही अवस्थामा काम गर्न दिंइदा तत्काल केही समस्या नआएपनि भविश्यमा पानी नै प्रदुषण हुने अवस्था देखेपछि उहाँले सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौ, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, खानेपानी मन्त्रालय लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराई समन्वय गर्नुभयो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक शाक्य भन्नुहुन्छ “जमिनमुनि बनाईएका संरचना कहाँ कस्तो अवस्थामा छ ? भन्ने कुरा केही थाहा नभएकाले सडक विभागले पनि डिजाइन गरी ढल विछ्याउन थालेको थियो । जमिनमुनिको संरचनाको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित कार्यान्वयन गर्ने निकायकै भएकाले हामीले सडक डिभिजन कार्यालयलाई भन्यौं ।”

उहाँका अनुसार खानेपानीको पाईपलाइनलाई ढलबाट अलग बनाउन सकिने दुईवटा विकल्प थिए । पहिलो, ढलको सतहभन्दा खानेपानी पाइपलाइन माथि ल्याउने र दोस्रो विकल्प, पाइपलाइन सोही सतहमा राखेर ढललाई गहिराईमा लैजाने । यी दुवै विकल्पहरु मध्ये पहिलो विकल्प सहज र किफायती पनि भएकाले ढलको सतहभन्दा खानेपानीको पाइपलाई माथि पारिएको उहाँले बताउनुभयो ।

ढलको सतहभन्दा खानेपानीको पाइपलाई माथि पारेर निर्माण गरिएको अवस्था ।

काठमाडौ उपत्यका लगायत सहरी इलाकामा खानेपानी प्रदुषित भयो, धमिलो आयो भन्ने लगायतका समस्या यस्तै कारणले आउने गरेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । खानेपानी र ढलको पाइप सँगसँगै बिछ्याउँदा ढलको ग्यासका कारण खानेपानीको पाइपमा खिया लागेर प्वाल पर्ने र ढल छिर्ने भएकाले अलग्गै बिछ्याउनुपर्ने उहाँले बताउनुभयो । “खानेपानीको पाइप मंगालमा हाल्ने, ढल विछ्याउने क्रममा ढलभित्र पार्ने लगायत कारणले खानेपानी प्रदुषण हुन्छ । त्यसैले यस्तो कार्य जुनसुकै निकायबाट हुनु हुँदैन ।” उहाँले भन्नुभयो ।

बर्षौ पुराना भूमिगत खानेपानीका संरचनाहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने थाहा नभएकाले विजुलीको तार तथा ढल विछ्याउँदा समेत काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग समन्वय गर्न उहाँले आग्रह गर्नुभयो । हाल चुहावट नियन्त्रणमा लागिरहेको केयूकेएलले सबैको समन्वय र सहकार्यबाट मात्र खानेपानीको चुहावट र प्रदुषण नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार