सर्लाही : बन्दाबन्दीका कारण सामाजिक, आर्थिक, शैक्षिक लगायत क्षेत्रको अवस्था ठप्प जस्तै भएपनि सर्लाहीको बसबरिया गाउँपालिका वडा नं. ३ मा रहेको मुसहर वस्तीमा भने अर्कै चहलपहल छ । आफ्नो घर, आँगनको सरसफाइ गर्न, चर्पीको मर्मत सम्भार एवं नयाँ निर्माण, हातधुने ठाउँ, भाँडाकुँडा सफा गर्ने र सुकाउन मिल्ने जुठ्यान व्यवस्थापन गर्न यत्तिबेला भ्याइनभ्याइ छ ।

३ महिना अगाडिको भेटमा मुसहर बस्ती सरसफाइमा निकै पछाडि परेको गुनासो गर्ने वडा सदस्य सीता माझी पनि सरसफाइ सम्बन्धी टोलवासीमा अहिले आएको जागरुकता देखेर खुसी हुनुहुन्छ ।
बसबरिया गाउँपालिका कार्यालयको नजिकै भएर पनि पछाडि परेको वस्ती हो मुसहरवस्ती । करिब ५५ घरपरिवारको बसोबास रहेको यस टोलमा माझी मुसहर, यादव, मुखिया आदि जातिहरु बस्छन् । करीब ३ महिना अगाडिको भेटमा वडा सदस्य सीता माझी भन्दै हुनुहुन्थ्यो “यो टोल सरसफाइमा निकै पछाडि परेको छ । आफ्नो घर आँगन सफा राख्नुपर्छ भन्ने चेतना अझै पनि राम्रोसँग विकास हुन सकेको छैन ।” वहाँका अनुसार कतिपय घरपरिवारमा त चर्पी निर्माण गर्न पनि बाँकी रहेको र खुला ठाउँमा दिसा पिसाब गर्ने बानीको अवशेष अझै बाँकी रहेको छ ।
तर अहिले मुसहर वस्तीमा निक्कै परिवर्तन आएको छ । उनीहरु अहिले आफ्नो आफ्नो घर आँगनको सरसफाइ मात्र नभई चर्पी निर्माण गर्न बाँकी भएका घरमा धमाधम चर्पी निर्माणमा पनि लागेका छन् । बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड/यूएन ह्याविट्याटको सहयोगमा पूर्र्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेपछि उनीहरुले सरसफाइ प्रति लगाब बढाउन थालेका हुन् ।
चर्पी निर्माणमा व्यस्त रहेका सिकिन्द्र यादवले भन्नुहुन्छ “पहिलाको कच्ची चर्पी भत्किए पछि दुःख गरिरहेको थिएँ, लकडाउनले घरको काम गर्ने फुर्सद पनि मिलेकोले अहिले नयाँ चर्पी बनाउँदैछु ।” ७ जनाको उहाँको परिवारमा अहिले सबैजना खुसी हुनु भएको छ । पानी झरी, हुरीबतासका बेला चर्पी नहुँदा आईपर्ने दुःखबाट मुक्ति मिलेको यादवले बताउनुभयो ।

सो वडाका पूर्ण सरसफाइ सहजकर्ता सचिन्द्र साहका अनुसार ५५ घरपरिवार मध्ये २५ घरपरिवारले जुठ्यान निर्माण गरिसकेका छन् । दाउराको उचित व्यवस्थापन, किचन गार्डेन व्यवस्थापन, बाथरुम व्यवस्थापन आदि गरेर अरु ठाउँको भन्दा मुसहर बस्ती टोलले सरसफाइमा केही फरक गर्न खोजेको अगुवा महिला रजनीदेवी माझीको कथन छ । “हाम्रो टोललाई नमूना सरसफाइ वस्ती बनाउन सबै जना एकजुट भएका छौं ।” रजनीदेवीले भन्नुभयो “शतप्रतिशत घरधुरीमा चर्पी निर्माण, हात धुने ठाउँ निर्माण र अन्य सरसफाइका सूचक पूरा गरेर टोललाई नमूना बनाउन हामी प्रतिवद्ध भएर लागेका छौं ।”
३ महिना अगाडिको भेटमा मुसहर बस्ती सरसफाइमा निकै पछाडि परेको गुनासो गर्ने वडा सदस्य सीता माझी पनि सरसफाइ सम्बन्धी टोलवासीमा अहिले आएको जागरुकता देखेर खुसी हुनुहुन्छ । “मुसहरवस्तीका बासिन्दाले अब सरसफाइको महत्व बुझ्न थालेका छन्, चर्पी प्रयोग, साबुन पानीले हात धुने बानीको विकासमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।” वहाँले भन्नुभयो ।
बसबरिया गाउँपालिकाको ४ वटा वडामा सञ्चालन भइरहेको पूर्ण सरसफाइ परियोजना शुरु भएयता हालसम्म १ सय ४६ वटा घरपरिवारमा जुठ्यान निर्माण भएका बसबरिया गाउँपालिका संयोजक रामलखन मुखियाले जानकारी दिनुभयो । बन्दाबन्दीकै समयमा १० वटा नयाँ चर्पी निर्माण भएका छन् ।” मुखियाले भन्नुभयो “कोरोना र अन्य धेरै रोगहरुबाट जोगिनको लागि सरसफाइ महत्वपूर्ण भएकोले पनि अहिले सरसफाइ सम्बन्धी बेग्लै प्रकारको जोश गाउँलेहरुमा छ ।”


1367 पटक हेरिएको 

