
काठमाडौं : प्रशोधन बिनै सिधै नदीमा ढल मिसाउनेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहितको कानुन बन्न लागेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा रहेको खानेपानी तथा सरसफाइ विधेयक यस्तो प्रावधान राखिन लागेको हो । मानव मलमूत्र खोलामा मिसाए, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकृत तरिकाले पानी प्रयोग गरे, अनुमति प्राप्त संस्थाले निर्धारण गरिएको महसुल वा निर्धारित आधार र मापदण्ड विपरीत महसुल लिए एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना गर्ने वा दुवै सजाय गर्ने व्यवस्था सहितको खानेपानी विधेयक माथि संसदीय समितिले लगभग सहमति जुटाएको छ ।
त्यस्तै,अनुमति नलिई खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गरे एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । थोक, ट्यांकर वा बोतलबन्दी रुपमा खानेपानी उपलब्ध गराउने कामलाई खानेपानी सेवा अन्तर्गत राखिएको छ । यो ऐन बनेपछि ट्यांकर र जारमा पानी बेच्नेले पनि अनुमति लिनुपर्छ ।
विधेयकमा खानेपानी सेवामा निजी क्षेत्रको संलग्नता बारेमा पनि उल्लेख गरिएको छ । विधेयकमा निश्चित मापदण्डका आधारमा खानेपानी सेवा र ढल निकास सेवा निजी क्षेत्रले समेत गर्न पाउने व्यवस्था राखिएको हो । सशुल्क रुपमा खानेपानी एवं ढल निकासीको सेवा दिने निजी क्षेत्रले प्रशोधन पश्चात ढलबाट निस्किएको शुद्ध पानीलाई नदीमा मिसाउन समेत पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, सरकारले कानुनी रुपमा नै खानेपानीको निर्यात र व्यापार गर्न बाटो खोल्ने गरी विधेयक तयार पारेको छ । विधेयकमा नेपाल सरकारबाट अनुमति प्राप्त संस्थाले खानेपानी निर्यात गर्न पाउने व्यवस्था राखिएको छ । विधेयकको दफा ५१ मा ‘नेपाल सरकार वा अनुमतिप्राप्त संस्थाले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्नेछ ।’ भनिएको छ ।
बुधबार बसेको विकास समितिको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकको धेरै व्यवस्थामा सहमति जुटाएको छ । विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।


984 पटक हेरिएको 

