सिसडोलबासीसँग सहमति : बेलुकी ८ बजेदेखि बिहान ६ बजे भित्र फोहोर व्यवस्थापन गरिसक्नुपर्ने

काठमाडौ : नुवाकोटको सिसडोलबासीको कोरोना परिक्षण गर्ने, फोहोरको गाडी छोपेर मात्र सञ्चालन गर्ने र बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र विसर्जन गरिसक्ने सहमति भएपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर फोहोर विसर्जनमा अवरोध गरेको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधि सहित बसेको बैठकले फोहोर व्यवस्थापनमा कुनै अवरोध नगर्ने सहमति गरेको हो ।

उपत्यकाको फोहोर विसर्जनमा पुर्‍याएको अवरोध हटेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभयो । ‘ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ ।’ उहाँले भन्नुभयो ।

प्रमुख शाक्यका अनुसार सिसडोलबासीको माग अनुसार उपत्यकाको फोहोर छोपेर सिसडोल लैजाने र बेलुका आठ बजेदेखि विहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्ने भएको छ । ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फाहोर विसर्जन हुने बताउनुभयो ।

‘हाम्रो ठूलो माग नै थिएन । स्थानीयको स्वास्थ्य परिक्षण हुनुपर्छ भनेका थियौँ, काठमाडौँ महानगरपालिकाले हाम्रा माग पूरा गर्ने सहमति गरेसँगै फोहोर विसर्जनको समस्या पनि समाधान भयो ।’ अध्यक्ष लामाले भन्नुभयो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने साना तिना माग राखेर फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गर्न नहुने बताउनुभयो ।
महानगर प्रमुख शाक्यले आज नै स्वास्थ्य विभागको टोली सहित सिसडोल पुगेर आरडीटी र पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार