कोरोनाबाट बच्न चर्पीको ढोका, चुकुल तथा टेबल समेत नियमित सरसफाइ गर्नुपर्ने

काठमाडौ : कोरोना भाइरस (कोभिड-१९) महामारीबाट बच्न चर्पीको ढोका, चुकुल तथा टेबुल लगायतको पनि नियमित सरसफाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि हात धुने बानीमा विकास भएपनि घरको ढोका, शौचालयको ढोका, चुकुल तथा टेबलको नियमित सरसफाइ नगर्दा कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकाले यसमा जोड दिनुपर्ने सरोकारवालाले बताएका हुन् ।


वातावरण र जनस्वास्थ्य संस्था एन्फोले नगरपालिका तथा गाउँपालिकाका प्रमुख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवालाका लागि आयोजना गरिएको अनलाइन तालिममा सरोकारवालाले हातसँगै मानिसको सम्पर्कमा आईरहने ढोका, चुकुल र टेबलको समेत सरसफाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।
अनलाइन छलफल क्वारेन्टाइन, भौतिक तथा सामाजिक दुरी र व्यक्तिगत स्वच्छताको बिषयमा केन्द्रित रहेको वातावरण र जनस्वास्थ्य संस्था एन्फोकी वास अफिसर एवं तालिम प्रशिक्षक शोभा राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलका सहभागीले नियमित हात धुनुपर्छ भन्ने मात्र सन्देश पाईरहेका सर्वसाधारणका लागि घरको ढोका, शौचालयको ढोका, चुकुल तथा टेबल जस्ता सबैले छोइरहने ठाउँको निसंक्रमण गर्नुपर्ने बिषयमा सचेतना अभिबृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।

GC/CAWST को सहयोगमा एन्फोले आयोजना गरेको अनलाइन तालिममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोशी र इन्द्रावती गाउँपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरु इलाम, पाँचथर, ताप्लेजु, रामेछाप, ओखलढुंगा, बारा र पर्सा तथा सोही जिल्लाका स्वास्थ्य संस्थाहरु र विभिन्न गैरसरकारी संस्थाका गरी ४८ जनाको सहभागिता थियो ।

एन्फोले कोरोना भाइरस (कोभिड-१९) बाट जोगिन सरकारी तथा गैरसरकारी संस्थाले गरिरहेको काम र अबको दायित्व लगायत बिषयमा विभिन्न तहको चरणगत रुपमा अनलाइन तालिमहरु सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार