१ करोड ५ लाखका १३ वटा योजनाका काम जारी

पोखरा : लकडाउनकै बीच कास्कीको माछापुछ्रे गाउँपालिकामा विभिन्न भौतिक पूर्वाधार निर्माणको काम भईरहेका छन् । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ९ वटा वडामा रहेका १३ योजनाका अधिकांश काम भईरहेको माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो । एक करोड ५ लाखका योजना अन्तर्गत वडा नम्बर एकको सरिपाखा रुम्जा मोटरबाटो, वडा नम्बर ५ को मोहरा जाने बाटो, ८ र ९ वडाको घले बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र केही खानेपानी आयोजना निर्माणको काम सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । तत्काल काम सञ्चालन नभए चालु आर्थिक बर्षको बजेट फ्रिज हुने भएकाले जनशक्ति जुटाएर काम थालिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । आफ्नो गाउँ ठाउँमा परेका योजनाको दिगोपनाका लागि गुणस्तरमा ध्यान दिन उहाँले उपभोक्ता समितिहरूलाई आग्रह गर्नुभयो ।

लकडाउनमा निर्माण सामग्री र मजदुर अभाव भए पनि उपभोक्ता समितिका पदाधिकारीले गण्डकी प्रदेश सांसद रामजी बराल, गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडा अध्यक्ष समक्ष आग्रह गरेका हुन् । चालू आर्थिक बर्षको अन्तिम समयमा पनि हाल लकडाउन जारी रहेकाले गर्दा आफ्ना क्षेत्रमा परेका योजनाको अवस्था कस्तो छ भनी बुझ्न गाउँपालिका पुगेका सांसद बराल समक्ष छनोट भएका योजना सम्पन्न गर्न ससहजीकरण गर्न स्थानीयले आग्रह गरे ।

सांसद बराल सहित माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख इन्जिनियर किरण आचार्य, सबइन्जिनियर सविता बराल सहितको टोलीले माछापुछ्रे गाउँपालिकामा पुगेर दुई ठाउँमा छुट्टाछुट्टै छलफलमा सहभागी भई योजनाका बारेमा जानकारी लिएका थिए ।

सांसद बरालले उक्त योजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताए । विभिन्न योजनामा काम गर्न केही कठिनाइ भएको अबस्थामा डिभिजन प्रमुख र गाउँपालिका अध्यक्ष एवं सम्बन्धित वडाध्यक्षहरूले पहल गरी समयमै योजना सम्पन्न गराउन सबैको साथ र सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख ई। किरण आचार्यले आफूहरूले दिएको योजना अनुसार काम गर्न समितिलाई आग्रह गरे । असार ९ गतेभित्र उक्त योजना सक्ने गरी काम गर्न सुझाव दिँदै उहाँले तोकिएको मापदण्डभित्र काम नभए भुक्तानी दिन नसकिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार