कौशीमा खेती गर्नेलाई निःशुल्क प्याकेज : गड्यौला, कम्पोष्ट मल र बीउ

ललितपुर : ललितपुर महानगरपालिकाले जैविक फोहोरमा कमी ल्याउन कौशी खेतीलाई प्रवर्द्वन गर्ने भएको छ । यसका लागि नगरपालिकाले कौसीमा खेती गर्न चाहनेका लागि निःशुल्क तरकारीको बीउ, गड्यौला मल र कम्पोष्ट मल पनि वितरण गर्ने भएको छ । सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको महानगरपालिकाको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार जैविक फोहोरमा कमी ल्याउन, आयातित तरकारीको आपूर्ति रोक्न र लकडाउनको समयलाई समेत सदुपयोग गरुन् भन्ने उद्देश्यले विभिन्न जातका तरकारीको बीउ वितरण गर्न लागिएको हो । ‘कौशीखेती गर्नका लागि मल चाहिन्छ, मल बनाउन घरको किचनमा उत्पादित फोहोरबाट मल बनाउन थाल्नेछन्, यस कार्यले विसर्जन गर्नुपर्ने फोहोरमा कमी ल्याउनेछ’ वडाध्यक्ष मिश्रले भन्नुभयो ‘यस कार्यले तरकारी किन्न लाग्ने खर्चमा कटौती हुने र कौसी खेती प्रवर्द्वनमा पनि सहरबासीको ध्यान जाने हामीले सोचेका छौं ।’

बीउ लैजाने किसानको उत्पादनलाई बढावा दिन ‘दिव्या ब्राण्ड गड्यौला मल’ वितरण गर्ने भएको छ । महानगरपालिकामै घर भएकालाई तरकारी फलाउन आधादेखि एक किलो कम्पोष्ट मल पनि निःशुल्क पाउने भएका छन् । वडा नं १५ मा रहेका लगभग दुई हजार घरलाई यी बीउ र मल वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । ‘हाम्रो वडामा रहेका २३ टोल सुधार समितिका अध्यक्षलाई बोलाएर आ–आफ्ना ठाउँमा यी वस्तु वितरण गर्न लगाउने भएको छु’, उहाँले थप्नुभयो ।

कौशी तथा करेसा या खेतबारीमा तरकारी उत्पादन गरी १० देखि १५ दिनभित्र महानगरवासीले रायो र तोरीको साग नै भए पनि फलाएर भान्छा चलाउन सफल हुन्छन् भन्ने उहाँको बुझाइ छ ।

गोदावरी र महालक्ष्मी नगरपालिकाले भने नगरभित्र बसोबास गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छन् । कोरोनाका कारण बहालमा बस्ने जनताले राहत लिएसँगै घरजग्गा हुने जनताले बन्दाबन्दीमा धान लगायत तरकारीको बीउबिजन खरिद गर्न जान नपाएका कारण उनीहरुको समस्या समाधान गरी दिन यी दुई नगरपालिकाले सहयोग गरेका हुन् ।

ललितपुरमा रहेका वाग्मती, महाँकाल र कोञ्ज्योसोममध्ये वाग्मतीले वडा नं ४ प्युटारका ४९० किसानलाई धान लगायत तरकारीको बीउबिजन निःशुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार