
काठमाडौ : केही दिन अघि आयोजित अनलाइन तालिमका क्रममा प्रशिक्षक सिर्जना कार्की भन्दै हुनुहुन्थ्यो ‘कोरोनाले भेदभाव गर्दैन, हामीले पनि नगरौं ।’ वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको उक्त तालिम कोरोना भाइरस (कोभिड -१९ ) बारे पछिल्लो अवस्थाबारे जानकारी प्रदान गर्न र यसबाट जोगिन के कस्ता स्वच्छता व्यवहारहरु अपनाउनुपर्छ भन्ने बिषयमा जानकारी प्रदान गर्न आयोजना गरिएको थियो ।
कोरोना भाइरस (कोभिड -१९ ) सबै जातजाति, सबै लिंग, धर्म, उमेर र सबै शारीरिक अवस्थाका मानिसहरुलाई लाग्ने भएकाले सरसफाइ तथा स्वच्छता सम्बन्धी सेवा पनि सबैका लागि समतामूलक तरिकाले वितरण गर्नुपर्छ भन्ने उहाँको भनाइको मूल मर्म थियो । यो भाइरस सबैका लागि बराबर हो, यसले न धर्म चिन्छ, न ओहोदा चिन्छ, न महिला न पुरुष न बालिबालिका नै भन्छ, त्यसैले हामी वास क्षेत्रमा क्रियाशील साथीहरुले समतालाई केन्द्रबिन्दुमा राखेर कोरोना प्रतिकार्यमा जुटौं उहाँले आग्रह गर्नुभयो ।
कोरोना प्रतिकार्यमा समतामूलक बानीव्यवहार किन र कसरी ?
♦ विगतमा भएका विपदका घटनाहरुमा महिला, बालबालिका, केटाकेटी, सुत्केरी तथा गर्भवती, दिर्घरोगी, अपांगता भएका व्यक्ति, पिछाडिएका समुदाय, बृद्धबृद्धा लगायत जोखिममा पर्छन् भन्ने तथ्य जगजाहेर छ । त्यस्ता जोखिमपूर्ण अवस्थामा परेका समुदायको पहिचान गरी कोरोना विरुद्धको प्रतिकार्यमा पनि उनीहरुलाई जोड दिनुपर्ने प्रशिक्षक कार्की बताउनुहुन्छ ।
♦ कोरोना संक्रमण सँग लड्न साबुन पानीले मिचीमिची हात धोइरहनुपर्छ । तर बिडम्बना जेएम्पी रिपोर्ट २०१७ अनुसार ५२ प्रतिशत नेपालीको घरमा अझै हातधुने स्थानकै अभाव छ । हात धुने सुविधा नरहेका त्यस्ता असमावेशीमा परेका मानिसहरुको पहिचान गरी हात धुने स्टेशन बनाउँदा समेत त्यस्ता बर्ग समुदायको पहिचान गरी बनाउनुपर्ने प्रशिक्षक कार्की बताउनुहुन्छ ।
♦ कसैलाई होच्याउने, चोट पुग्ने, आरोप प्रत्यारोप गर्ने काम पनि गर्नुहुँदैन । केही समय अघि इस्लाम धर्मावलम्बीले नेपालमा कोरोना फैलायो भन्ने धार्मिक आक्षेपहरु समेत लगेको र यसले कसैलाई पनि राम्रो नगर्ने भएकाले कुनै पनि धर्म, सम्प्रदायलाई चोट पुग्ने काम गर्न नहुने उहाँले बताउनुभयो । ‘आफ्नो बोली र प्रभावबारे ख्याल गरौं, हरेक व्यक्ति प्रति सहभाुतिको भाव व्यक्त गरौं’ उहाँले भन्नुभयो ।
♦ क्वारेन्टाइनहरुमा हिंसा भएका घटनाहरु आउन थालेका छन् । एकल महिला, अपांगता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला, बृद्धबृद्धा यसबाट प्रभावित हुन सक्छन् । त्यसैले क्वारेन्टाइनमा निर्माण गरिने सरसफाइ तथा स्वच्छता सुविधा र व्यवहार समेत प्रयोगकर्तामैत्री हुनुपर्दछ । हिंसाका घटनाहरु भएमा हेल्पलाइनहरुमा तुरुन्त फोन गर्नुपर्दछ ।
♦ विभिन्न संघसंस्थाले निर्माण गरिने सूचना शिक्षा तथा सञ्चार सामग्रीहरु समेत लैंगिकमैत्री हुनुपर्दछ । यस्ता सामग्रीहरु बनाउँदा पनि समताको दृष्टिकोणबाट बनाउनुपर्ने प्रशिक्षक कार्कीले बताउनुभयो ।
♦ यस्ता सामग्रीहरु बनाउँदा बनावटीलाई भन्दा यथार्थमा आधारित र परम्परागत बानी व्यहोराबाट परिवर्तित आनीबानीलाई बढावा दिने गरी बनाउनुपर्ने बताउनुभयो । ‘हामीले महिलाको सट्टामा पुरुषले पनि भाँडा माँझ्न सक्छन् भन्यौं भने पुरुष स्वयंले स्वतःस्फूर्त रुपमा भाँडा माझिरहेको फोटो प्रस्तुत गर्न सकौं’ उहाँले भन्नुभयो ‘यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्छ ।’
♦ हाम्रो समाज विविधतायुक्त छ । यसर्थ हामीले हाम्रा समुदायका लागि बनाईने सन्देशमूलक सामग्रीहरु पनि तिनै विविधतायुक्त समुदायलाई ख्याल गरेर बनाउनुपर्ने उहाँको भनाई छ ।
♦ ‘स्थानीयस्तरमै प्राप्त हुने सामग्री, समुदायद्वारा स्वीकार्य हुने र उनीहरुले अबलम्बन पनि गर्न सकिने कुरालाई बढी जोड दिनुपर्छ । हात धुने स्थान तथा जुठ्यान निर्माणकै कुरामा पनि आफूसँगै भएका सामग्रीहरुको प्रयोग गरी बनाउने हो भने बनाउन सक्छन् । यसमा पनि समताकै कुरा आउँछ ।’ उहाँले भन्नुभयो ।
♦ सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गर्दा मात्र होइन, प्रसारण गर्दा समेत समतालाई केन्द्रबिन्दुमा राखेर प्रसारण गर्नुपर्ने उहाँको भनाई छ । समावेशीमा नपरेका ठूलो समुदायमा पनि विविधता हुने र ति मध्ये कोही कान नसुन्ने, पढ्न सक्ने, कोही सुन्न नसक्ने तर हेर्न सक्ने यस्ता खालका मानिसहरु भएकाले पोष्टर, पम्प्लेट, रेडियो, टेलिभिजन सबैमा उत्तिकै प्राथमिकता दिएर प्रसारण गर्नुपर्ने उहाँले बताउनुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले कोरोना भाइरस कोविड १९ प्रतिकार्यका लागि नगरपालिका तथा गाउँपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र स्वास्थ्य संस्था सँग सम्बन्धित सरोकारवालाले के गर्न सक्छन् भन्ने बिषयमा चरणगत रुपमा विभिन्न तहको अनलाइन तालिमहरु सञ्चालन गर्दै आएको छ ।


1797 पटक हेरिएको 

