यत्ति गर्न नसके कोरोना लाग्नबाट कसैले रोक्न सक्दैन

🔗
8
Shares

काठमाडौ : कोरोना भाइरस (कोभिड -१९) संक्रमनको दर दिनप्रतिदिन बढ्दो छ । सुरु सुरुमा आफू बसोबास गरेको जिल्लाबाट धेरै टाढा संक्रमण फैलिएको खबर सुनिरहेका तपाई हाम्रो गाउँ शहरमै भित्रिन थालिसकेको छ, अहिले । भनिन्छ, कोरोना आफैले लिन नगएसम्म आफै आउँदैन । त्यसैले तपाई हामीले यसको संक्रमण र रोकथामका लागि केही महत्वपूर्ण कामहरु गर्नैपर्छ । जुन मानिसको स्वच्छतापूर्ण बानीव्यहोरा सँग सम्बन्धित छन् ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का तालिम प्रशिक्षक सुबास केसी निम्न स्वच्छता व्यवहारहरु अपनाउन सल्लाह दिनुहुन्छ ।

स्वच्छतापूर्ण बानी व्यहोरा अपनाउने

स्वच्छताको कुरा गर्दा हात धुने कुरालाई मात्र विशेष जोड दिईन्छ । तर साबुनपानीले हातमुख धोएर मात्र पुग्दैन । प्रशिक्षक केसीका अनुसार कोरोनाबाट बच्न साबुनपानीले हातमुख धुनु त पर्छ नै, बेला बेलामा हातले मुख छोईरहने, नाके कोट्याईरहने, आँखा मिचिरहने जस्ता बानी समेत त्याग्नुपर्दछ ।

यसका साथै मानिसले छोइरहने ठाउँहरुघरको ढोका तथा ह्याण्डल, चर्पीको ढोका, चुकुल तथा टेबुल, रिमोट कन्ट्रेल बत्तीको स्वीच, फ्रिज, कुर्सी, सोफा जस्ता बस्तुहरुको पनि नियमित सरसफाइ तथा निसंक्रमण गर्नुपर्छ । कपडाहरु धोइरहने, नुहाईरहने, बाहिर गएर फर्केपछि साबुनपानीले हातमुख धुने त अनिवार्य भईहाल्यो ।

भौतिक तथा सामाजिक दूरी कायम गर्ने भीडभाडमा नजाने

कोरोनाको नाम सुनेदेखि नै भौतिक तथा सामाजिक दूरी कायम गर्ने भनेको तपाई हामीले सुन्दै आएका हौं । भौतिक दूरी भनेको एक व्यक्ति र अर्को व्यक्ति बीचको फरक हो । अर्थात एउटा व्यक्ति उभिएको ठाउँबाट अर्को व्यक्ति बीचको दूरी एक मिटर हुनुपर्दछ । हिड्दा, बस्दा, पसलमा सामान लिन जाँदा, उभिँदा यो दूरीको पनि ख्याल गर्नुपर्दछ । चिकित्सकहरुले यसो किन भनिएको हो भने कुनै व्यक्ति संक्रमित भएको खण्डमा उनको नजिक जानसाथ विभिन्न माध्यमबाट अर्को व्यक्ति पनि संक्रमित हुने सम्भावना धेरै हुन्छ । त्यस्तै कसैको घरमा हुने भेटघाट, न्वारान, विहे, छेवार, ब्रतबन्ध जस्ता भीडभाड हुने कार्यक्रममा पनि सहभागी नहुने ।

मास्कको अनिवार्य प्रयोग गर्ने

घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । मास्क लगाउँदा अरुले हाँच्छ्यू गर्दा होस् वा आफूले गर्दा पनि थुकका छिटाहरु एक व्यक्ति बाट अर्को व्यक्तिमा तुरुन्तै सर्न पाउँदैन ।

हाँच्छ्यू गर्ने तरिका

यदि तपाईले मास्क लगाउनुभएको छैन र हाँच्छ्यू आयो भने कुहिनाको सहायताले नाक छोपेर मात्र हाँच्छ्यू गर्न डाक्टरहरुले सुझाएका छन् । या त रुमाल टिस्यू पेपरले छोपेर हाँच्छ्यू गर्नुपर्दछ । हाँच्छ्यू गर्दा नाक पुछेको टिस्यू पेपर डस्टबिनमा राखेर विर्को बन्द गरिदिनुपर्दछ । रुमालले सिंगान पुछ्नु भएको छ भने साबुन पानीले सफासँग धोइहाल्नुपर्दछ ।

क्वारेन्टाइनमा बस्ने

यदि तपाई काम विशेषले बाहिर जाने क्रममा कोरोनाको आशंका भएको व्यक्तिसँगको सम्पर्कमा पुग्नुभएको छ र आफूलाई पनि सर्यो भन्ने डर लागेको छ भने होम क्वारेन्टाइमा बसिहाल्नुहोस् । होम क्वारेन्टाइमा परिवारभन्दा अलगै बसेर तपाईले खानेपानी भाँडाकुँडा, प्रयोग गर्ने कपडा, चर्पी तथा अन्य सामग्रीहरु अलग्गै हुनुपर्दछ । क्वारेन्टाइन अवधि नसकेसम्म तपाई परिवारको सम्पर्कमा नजाने र स्वास्थ्यकर्मीबाट आरडिटी वा पिसिआर परिक्षण गरेर स्वस्थ भएको प्रमाणित भएपछि मात्र परिवारसँग हेलमेल गर्नुहोस् ।

डाक्टरहरुका अनुसार तपाई हामीले उल्लेखित आचारव्यहारको पूर्ण पालना नगरेसम्म कोरोना लाग्नबाट कसैले रोक्न सक्दैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार