
जाजरकोट : जिल्ला सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा बनाइएको क्वारेन्टिनमा शौच गर्न समस्या भएको छ । धेरै जना क्वारिन्टनमा रहेकाले सीमित शौचालयले धान्न नसक्दा शौच गर्न समस्या भएको हो । उक्त क्वारेन्टिनमा भारतबाट आएका दुई सय ६७ जना बसेका छन् । दुई सय ६७ जनाको लागि तीन ओटा मात्र शौचालय छन् ।
‘कोठा अभावमा एउटै कोठामा २० जना सम्म कोचिएर बसेका छौं । दिसापिसाब गर्न निकै सास्ती छ । लाइनमा बस्नु पर्छ, भेडाबाख्रा कोचेजस्तै गरेर राखिएको छ । आएकै १२ दिन भैसक्यो अहिलेसम्म परीक्षण भएको छैन । क्वारेन्टाइन जेल जस्तै भयो ।’ भारतबाट आएर त्रिभुवन मावि क्वारेन्टानमा बसेका जुनीचाँदेका रोशन मगरले गुनासो गर्नुभयो ।
तीमध्ये १७ जनाको कोरोना पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भिटिएम अभावमा अन्यको परीक्षण हुन नसकेको जनाएको छ । जिल्लामै भिटिएम अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताउनुभयो । क्वारेन्टाइनमा बसेका भाग्न थालेपछि जाजरकोटमा सेनाले सुरक्षा दिन थालेको छ । जिल्ला सदरमुकाम स्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेका भाग्ने र बजारमा डुल्न थालेपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् ब्यवस्थापन समितिले सेनालाई सुरक्षाको जिम्मा दिने गरिएको छ ।
ज्वालादल गण मालिका ब्यारेकका सहसेनानी अमरदीप कार्कीको सेनाको एक टोली अस्थायी क्याम्प खडा गरेर सुरक्षा दिइरहेको प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलले बताउनुभयो ।


1347 पटक हेरिएको 

