
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी उपभोक्ता समितिहरुले लिएको ऋणको ब्याज मिनाहा तथा साँवा भुक्तानीमा समेत पुनर्तालिका निर्धारण गरी राहत प्याकेज उपलब्ध गराउन माग गरेको छ । उपभोक्ता संस्थाहरुले प्रकोप, विपत्ति र संकटपूर्ण अवस्थामा समेत निरन्तर सेवा प्रवाह गरिरहेकाले देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले लिएको ऋणको कोरोना भाइरस (कोभिड १९) को लकडाउन अवधिभरको ब्याज मिनाहा गरिदिन माग गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का राष्टिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
महासंघले यससम्बन्धी नगर विकास कोषको ध्यानाकर्षण समेत गराएको छ ।
देशभर सञ्चालित साना सहरी, सहरी तथा सहलगानी खानेपानी आयोजनाहरुले आयोजनाको कुल लागतको निश्चित प्रतिशत रकम नगर विकास कोष मार्फत सहुलियत दरमा ऋण लिएका हुन्छन् ।
सरकारले बजेट वक्तव्य मार्फत खानेपानी उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा, विद्युत महसुलमा सहुलियत र आयकर छुटको व्यवस्था गरिसकेको छ ।
कोरोना भाइरस रोकथामको लागि देशैभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले साबुन पानीले पटक पटक मिचीमिची हात धुन, खान र सरसफाइ गर्न नियमित, गुणस्तरीय, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराई नेपाल सरकारको आव्हान अनुरुप खानेपानी महसुलमा छुट दिने, सरकारको राहत कोषमा रकम जम्मा गर्ने, राहत वितरण गर्ने लगायत कार्यहरु समेत गर्दै आएको छ ।


1294 पटक हेरिएको 

