कौसीखेतीले फोहोर व्यवस्थापनमा सहज, अब कौसी पनि खाली नरहने

काठमाडौ : ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्ना साथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको चिन्ता हुन्छ र बिहान उठ्नेबित्तिकै छतमा पुग्नुहुन्छ । उहाँको वरपरका चार पाँच घर छिमेकीले पनि उहाँले जस्तै कौसीमा तरकारीखेती गरेका छन् । उनीहरु पनि बिहानदेखि साँझसम्म पटक पटक कौसीमै देखिन्छन् ।

यी छिमेकीलाई यति खेर बन्दाबन्दीले दिक्दार लागेको छैन । उनीहरु बन्दाबन्दीको विषयमा होइन कि आ–आफ्नो घरको छतबाटै कसको कुन तरकारी कत्रो र कस्तो भयो भन्ने बारेमा कुराकानी गर्छन् । ताम्राकारले भन्नुभयो, “अहिले यो टोलमै सबैको दैनिकी र आपसमा हुने कुराकानीको विषय पनि फेरिएको छ, हामीले अहिले आफ्नै कौसी खेतीको बारेमा कुरा गर्ने गरेका छौं ।”

ग्रामीण क्षेत्रमा खेतबारी बाँझो राख्नु हुँदैन भनेझैँ अहिले शहरी क्षेत्रमा कौसी पनि बाँझो राख्नु हुँदैन भन्ने धारणाको विकास भइरहेको देखिएको छ । हुनत यहाँका मानिसले कौसीमा फलफूल तथा तरकारीखेती पहिल्यैदेखि गर्दै आएका थिए । तर कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले दुई महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दीले गर्दा काठमाडौँ उपत्यकामा कौसीखेती झन मौलाएको छ । घरको छतमा तरकारी फलाउन सकिन्छ भन्ने बुझे पनि सामान्य अवस्थामा व्यस्तताका कारण शुुरु गर्न नसकेका नागरिक अहिले फुर्सदको समयको उपयोग गरिरहेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हालै कौसी खेतीलाई प्रोत्साहन गरिने बताएपछि उनीहरुमा झनै प्रोत्साहन मिलेको देखिएको छ । काठमाडौँ उपत्यकाका स्थानीय सरकारले पनि कौसीखेतीलाई प्रोत्साहित गर्ने कार्यक्रम शुरु गरेका छन् ।

कामको सिलसिलामा १२ घण्टाभन्दा बढी समय घर बाहिर बिताउने ताम्राकारले फुर्सदको उपयोग गर्दै कौसीखेती शुरु गर्नुभएको छ । आफू सानो छँदा आमाबुबाले घरसँगैको जग्गामा तरकारी रोपेको मात्र देख्नुभएको उहाँसँग यसअघि तरकारीखेतीको अनुभव भने छैन । उहाँहरु त्यहाँबाट अर्को ठाउँमा सरेपछि आमाबुबाले पनि तरकारी रोप्न छोड्नुभएको छ । उहाँले भन्नुभयो, “आफैँले तरकारी फलाएर खानु मेरो लागि जीवनकै पहिलो र नयाँ अनुभव भएको छ ।”

एउटा निजी कम्पनीमा कार्यरत ताम्राकारको बन्दाबन्दीको पहिलो साता कुनै काम विहीन रुपमा नै यसै बित्यो । त्यसपछिका दिनहरुमा बन्दाबन्दी लम्बिरहँदा कौसीखेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले अहिले आफ्नो घरको छतमा लसुन, प्याज, सागलगायतका तरकारी रोप्नुभएको छ । बन्दाबन्दीपछि रोपेकोमध्ये कतिपय तरकारी खाने समय भइसकेको र केही तरकारी केही दिनपछि खान सकिने उहाँले बताउनुभयो । उहाँलाई कौसीखेतीप्रति पहिलेदेखि नै चाह थियो । बिहान ६ बजे घरबाट निस्केपछि कार्यालय सकेर साँझ ८ बजे आउने हुँदा यसका लागि समय मिलाउन सक्नुभएको थिएन । अहिले आवश्यक सामग्री, बीउ र मल घरमै मगाएर आफूलाई इच्छा लागेका तरकारी रोपिरहनुभएको छ । उहाँ कतिपय पुराना अनुभव आमाबुबासँग सिक्नुहुन्छ भने नयाँ सीप र तरिकाबारे युट्युब र गुगलबाट लिनुहुन्छ । उहाँले भन्नुभयो, “कति पुराना र कतिपय नयाँ सीप तथा तरिकाहरु गरेर तरकारी रोप्ने, गोडमेल गर्ने आदि गरिरहेको छु, मलाई लाग्छ यस कार्यमा म सफल भइरहेको छु ।”

कौसीमा तरकारी फलाउँदा संक्रमणको जोखिम कम

ताम्राकारजस्तै काठमाडौँका विज्ञ बज्राचार्यले पनि बन्दाबन्दीमा समय कटाउने उपायका रुपमा कौसीखेतीलाई लिनुभएको छ । यो समयमा आफू भुल्ने र आफूलाई चाहिनेमध्ये थोरै भए पनि तरकारी आफैँ फलाउने हुँदा कौसीखेती शुरु गरेको उहाँले बताउनुभयो । गैरसरकारी संस्थामा कार्यरत उहाँ बन्दाबन्दीका समयमा बाहिर निस्केर बिहान, साँझ हिँड्न नपाएकाले तरकारी रोप्दा र गोडमेल गर्दा व्यायामसमेत भइरहेको बताउनुभयो । उहाँको परिवारले दुई वर्ष पहिलेदेखि नै एक दुईवटा गमलामा सिमी र धनियाँ रोप्ने गरेको थियो । अहिले उहाँकी श्रीमती पनि उहाँलाई सहयोग गर्दै आउनुभएको छ । एक महिना पहिले उहाँले सिमी, काँक्रो, रामतोरिया लगायतका तरकारी रोप्नुभएको थियो । बन्दाबन्दीको समय भएकाले अहिले तरकारीखेतीका लागि आवश्यक कतिपय सामग्री भन्नासाथ उपलब्ध नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जति उपलब्ध छन् त्यसैबाट र बाँकी कतिपय आवश्यकताहरु युट्युबबाट सिकेर पनि गरिरहेको छु ।”

कालिमाटीका सुयोग कर्माचार्यले छतमा गमला र केही बोरामा तरकारी रोप्न थाल्नुभएको छ । केही समय पहिलेसम्म नेपालस्थित एउटा विदेशी दूतावासमा कार्यरत उहाँ सेवानिवृत्त भएपछि कौसीखेतीमा आकर्षित हुनुभएको हो । पहिले उहाँ गमलामा तरकारीमा इस्कुस, चतरा र पूजा गर्नका लागि केही फूलमात्रै रोप्ने गर्नुभएको थियो । बन्दाबन्दीपछि भने उहाँले गुठी संस्थाद्वारा सञ्चालित तालिममा सहभागी भएर धेरै कुरा सिक्नुभयो । पहिले केही रोप्न खोजे पनि मर्ने र मरेपछि किन मर्‍यो भन्ने थाहा नभएको उहाँले बताउनुभयो । अहिले फेसबुकमा कौसीखेती समूह रहेको र सोही समूहबाट पनि धेरै कुरा सिक्न र आपसमा बाँड्न सकिन्छ । यो खेतीलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँको योजना छ । उहाँले भन्नुभयो, “थोरै फलाउन सक्दा पनि त्यसले सन्तोष दिने रहेछ अनि आफ्नै घरमा फलेको भनेपछि त्यसको महत्व पनि बेग्लै हुन्छ ।”

तरकारी रोप्दा होस् वा त्यसको हेरचाहका लागि माटो चलाउँदा त्यसले कर्माचार्यको मनमा शान्ति र आनन्दको महसुस गराएको छ । कौसीमा फलाएको तरकारीले निर्वाह नभए पनि आफैँले फलाएर खाँदा त्यसको महत्व विशेष हुने उहाँले बताउनुभयो । सबै सामग्री जुटाएर रोप्दादेखि फलाउँदासम्म किन्न बराबर लागे पनि आफैँले फलाएर खाँदा छुट्टै मज्जा आउने र बिनाविषादी फलाउने भएकाले स्वास्थ्यका लागि पनि राम्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो मेहनत परेपछि त्यो पक्कै मिठो हुन्छ, कौसीमा फलेका तरकारी लिँदा त्यस्तै आनन्द हुन्छ ।”

बन्दाबन्दीको समयमा ललितपुर महानगरपालिकाले वडा कार्यालयहरुले मल र तरकारीको बीउ वितरण गरिरहेका छन् । महानगरले चक्रपथभित्रका वडामा कौसीमा रोप्न सकिने तरकारीका बीउ वितरण गरिरहेको हो । बन्दाबन्दीकै समयमा गुठी लगायतका संस्थाले पनि शहरी क्षेत्रका बासिन्दालाई तरकारीखेती, फूलखेती, प्राङ्गारिक मल बनाउने तरिकाका बारेमा सिकाएको छ । यो समयमा तरकारी बाहिरबाट आउने, नआउने टुङ्गो नहुने, बजारमा किनेर ल्याउँदा पनि सङ्क्रमणको जोखिम लगायतका कारणले पनि उपत्यकावासीमा एक दुई छाक भए पनि आफैँ फलाउनुपर्छ भन्ने आएको हो । पहिले भित्री भागमा मात्रै जग्गाको अभाव थियो । अहिले नयाँ बनेका नगरपालिकामा समेत थोरै जग्गामा घर बनिरहेकाले तरकारी फलाउने करेसाबारी कम हुँदै गएको छ । यस क्षेत्रमा पनि विस्तारै स्थानीयवासी तरकारी खेतीमा आकर्षित भइरहेका छन् ।

कौसीखेतीले फोहोर व्यवस्थापनमा सहज

शहरी क्षेत्रको खानेपानी र सरसफाइका क्षेत्रमा काम गरिरहेको गुठी संस्थाका संयोजक प्रकाश अमात्यले बन्दाबन्दीले धेरैलाई कौसीखेतीप्रति आकर्षित गरिरहेको बताउनुभयो । कौसीखेतीले एकातिर रोप्ने व्यक्ति र उसको परिवारले ताजा तरकारी खान पाउने र अर्कातर्फ फोहर व्यवस्थापनमा नगरपालिकालाई सहज हुने बताउनुभयो । कौसीखेतीमा घरबाट निस्किने फोहर कम्पोष्ट मलका रुपमा प्रयोगमा आउँछ । उपत्यकामा जम्मा फोहरमध्ये ४० प्रतिशत त कुहिने खालको फोहर नै हुने भएकाले घरधनी सबैले कौसीखेती गर्दा त्यो फोहर मलका रुपमा प्रयोग हुने र घरबाट बाहिर निस्कन नपाउने उहाँले बताउनुभयो । चालीस प्रतिशत कुहिने फोहर घरमै तरकारीमा प्रयोग हुने र ३० प्रतिशत कवाडीमा पठाउँदा आधाभन्दा बढी फोहर कम हुने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “यसले गर्दा हाम्रो ल्याण्डफिल साइट लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।”

गुठीले बन्दाबन्दीपछि झण्डै १५० लाई प्रत्यक्षरुपमा तालिम दिएको थियो । सो भिडियो अरु धेरैले हेरिरहेको उहाँले बताउनुभयो । संस्थाले केही वर्ष पहिलेदेखि टोलटोलमा महिला समूह मार्फत कौसी खेतीको तालिम सञ्चालन गर्दै आएको थियो । अहिले बन्दाबन्दीको समय भएकाले इन्टरनेटको प्रयोग मार्फत ‘जुम’ प्रविधि मर्फत तालिम सञ्चालन भएको संयोजक अमात्यले बताउनुभयो । बन्दाबन्दीले कौसीखेतीलाई व्यापक बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । पहिले पहिले घरमै बस्ने गृहिणी कौसीखेतीमा सहभागी भए पनि अहिले जागिरे वा व्यापार लगायतका कामका लागि सामान्य अवस्थामा घर बाहिर हुनेहरु पनि यसमा सहभागी भइरहेका छन् ।

बन्दाबन्दीकै बीचमा कतिपयले आफूले फलाएको तरकारी खान थालेको पनि फोटो शेयर गरिरहेको उहाँले बताउनुभयो । अहिले समय समयमा वर्षा भइरहेकाले पनि पानीको समस्या छैन । घरमा रोपेको तरकारी घरकै फोहरबाट कम्पोष्ट मल हाल्दा खानका लागि स्वस्थ हुने उहाँले बताउनुभयो । घरमै फलाएका तरकारी खान स्वस्थ र थोरै भए पनि तरकारी किन्न खर्च बचाउनेछ । यसलाई निरन्तरता र व्यापक बनाउन सके तरकारीमा आत्मनिर्भर हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै तहको सरकारले यसलाई कसरी प्रोत्साहन गर्ने भन्ने सोच्नुपर्छ, यसबारेमा सरकारले नीति नै बनाएर कार्यान्वयनमा ल्याए अझै राम्रो हुनेछ ।”

सरकारको नीति तथा कार्यक्रममा समेटिएको कौसीखेतीको विषयलाई सरकारले बजेट मार्फत पनि समेट्नुपर्ने यस क्षेत्रमा कार्यरत व्यक्तिहरु बताउँछन् । बन्दाबन्दीका समयमा आवश्यक सामग्री, बीउ र मलको आपूर्ति सहज नभएकाले यसलाई सहज बनाउनुपर्ने खाँचो छ । स्थानीय स्तरमा काम गर्न स्थानीय सरकारले वडा कार्यालय मार्फत कौसीखेती विस्तारका लागि योजना बनाउनुपर्ने स्थानीयवासी बताउँछन् । यस खेतीमा लागेका सबै व्यक्तिको भनाइ छ, अब खेतबारीमात्र होइन कौसी पनि बाँझो राख्नुहुँदैन ।

गोरखापत्र अनलाइनबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार