आज खाद्य स्वच्छता दिवस, स्वच्छतामा ध्यान दिए कोरोना लगायत अन्य रोगले समेत नछुने

काठमाडौं : आज दोस्रो विश्व खाद्य स्वच्छता दिवस तथा बाह्रौ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाईदैछ । नेपालले बर्षेनी मनाउँदै आएको राष्ट्रिय खाद्य स्वच्छता दिवसलाई संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै सन् २०१९ देखि प्रत्येक वर्षको ७ जुनलाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउन थालिएको हो । नेपाल सहित कोस्टारिका लगायत देशको पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । यसबर्षको खाद्य स्वच्छता दिवसको नारा ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । स्वच्छ खाद्यवस्तु र सुरक्षित तथा गुणस्तरीय भान्साले यसविरुद्ध लड्ने क्षमता प्रदान गर्ने विज्ञको भनाइ छ । खाद्यान्नबाट मानिसमा कोरोना सङ्क्रमण भएको अहिले सम्म कुनै प्रमाण नभेटिएकाले बरु खाद्यपदार्थको स्वच्छतामा विशेष ध्यान दिन विज्ञको जोड छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा नागरिक नै त्यसको मारमा पर्ने बताउनुभयो । खरेलले सबै खाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिनुभयो ।

दश जना मध्ये एक जनालाई खाद्यान्नकै कारण रोग लाग्ने गरेको विज्ञको भनाइ छ । सरसफाइ र खानपानमा ध्यान दिन सके कोरोनालाई जित्न सकिने उहाँले बताउनुभयो ।

खाने कुरामा कुनै पनि किसिमको हानि हुने ढुङ्गामाटोदेखि लिएर रसायनिक पदार्थ नभएको, शरीरलाई हानि नगर्ने अवस्था नै खाद्य स्वच्छता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार