
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले आगामी आर्थिक बर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्था नआउने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गर्नुभयो ।
दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने बताउनुभयो ।
तराई क्षेत्र खासगरी प्रदेश नम्बर दुईमा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालिन र दीर्घकालिन योजना सहित अगाडि बढेको मन्त्री मगरले बताउनुभयो । वास प्लान अनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दिर्घकालिन रुपमा मेचीदेखि महाकालीसम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्षदेखि नै डीपीआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै देशैभर लागू हनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने बताइन् ।
यस्तै आगामी आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको बताइन् । उनले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानूनको रुपमा आउने विश्वास समेत व्यक्त गरिन् ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा साउनबाटै काठमाडौंका घर घरमा मेलम्चीको पानी वितरण गर्ने घोषणा गर्नुभएको थियो । मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरु देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।


949 पटक हेरिएको 

