
काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव, इन्जिनियर रमाकान्त दुवाडीले यस वर्षको बजेटमा सार्वजनिक शौचालय, खानेपानीको श्रोत संरक्षण र पानी पुनः भरणमा जोड दिने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । उहाँले कोभिड – १९ महामारीको सन्दर्भमा पनि विभिन्न कार्यक्रम समाबेश गरी कार्यान्वयन गर्ने दिसा तर्फ सरकार अगाडि बढेको बताउनुभयो ।
सरकारले आगामी आर्थिक वर्ष ७७/७८ का लागि विनियोजन गरेको खानेपानी, सरसफाइ र स्वच्छताको लागि बिनियोजन गरेको बजेट र कोभिड महामारी व्यवस्थापनका लागि बजेटले गरेको व्यवस्था सम्बन्धी अनलाइन छलफल कार्यक्रममा सहसचिव दुवाडीले आधारभुत खानेपानीको पहुँच ९४% जनसंख्यालाई पुर्याउने नीति लगायत प्रदेश नम्बर २ मा देखिएको आर्सेनिकको समस्या समाधानका लागि तत्कालीन तथा दिर्घकालीन योजना अघि सारेको बताउनुभयो ।
सरकारले आगामी आर्थिक बर्षका लागि विनियोजित कुल बजेट मध्ये खानेपानीमा ३४ अरब ५५ करोड, सरसफाइमा ५ अरब १२ करोड र बागमती सुधारका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । खानेपानी मन्त्रालयका सह सचिव अरुण सिँखडाले आगामी आर्थिक वर्षको विनियोजित बजेटको करिब ३% भाग खानेपानी र सरसफाइ क्षेत्रले ओगटन सफल भएको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा बजेट नबढे तापनि हाल कोरोनाको माहामारीमा सरकारको प्राथमिक्तामा परेको स्वास्थ्य क्षेत्र भएता पनि यस क्षेत्रले राम्रै बजेट प्राप्त गर्न सफल भएको बताउनुभयो ।
यस्तै खानेपानी तथा ढल निकास व्यवस्थापन विभागका उपमहानिर्देशक ई. अनिल भद्र खनालले तीनै तहको सरकारसँग संयोजन गरेर काम गर्न बजेट विनियोजन पुस्तिका जारी गरेको बताउनुभयो । स्थानीय तहको खानेपानी र सरसफाइमा क्षमता अभिवृद्धि गर्न आगामी वर्ष २ अर्ब बजेट छुट्याइएको छ ।
स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आवश्यक तथ्याङ्क संकलन GIS प्रविधिद्वारा भइरहेको जानकारी दिँदै उक्तले सुचनाको आधारमा कार्ययोजना र डिजाइन म्यानुअलहरु तयार गरिने कुरा आगामी बजेटमा व्यवस्था भएको बताउनुभयो । सार्वजनिक शौचालयको जिम्मेवारी स्थानिय तहलाई नै हस्तान्तरण गरिएमा आवश्यक्ता अनुसार नयाँँ शौचालय निर्माण हुने र त्यसको व्यवस्थापन चुस्त दुरुस्तरुपमा हुने उहाँको भनाइ थियो । उहाँले मेलम्चीको पानी आइसकेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आइरहेको जमिन मुनिको पानी निकाल्ने प्रक्रियामा ८०% कमी आउने दाबी गर्नुभयो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले प्रदेश र स्थानीय सरकारका लागि आएको ११% बजेट स्थानीय सरकारका लागि पर्याप्त नभएको बताउनुभयो । ‘हामीले स्थानीय तहमा भएको न्यूनतम मानव शक्तिलाई अत्याधिक सदुपयोग गरेर काम गर्यौ भने पनि यो बजेट स्थानीय सरकारका लागि प्रयाप्त देखिदैन । महालक्ष्मी जस्तो नयाँ बनेको नगरपालिकामा खानेपानीको उचित व्यवस्था नभएको अवस्थामा पानी पुनर्भरण कार्यक्रममा स्थानीय तहले मात्र नभई केन्द्रिय सरकारको संयोजकत्वमा कार्य हुनु जरुरी छ ।’उहाँले भन्नुभयो ।
कोभिड १९ महामारीको अवस्थालाई मध्यनजर गरी नगरपालिकाले हात धुने स्टेसनलाई प्राथमिकतामा राखेको छ र सिल सेफ्टि ट्याङ्कीको अवधारणालाई पनि अगाडि बढाईसकेको उहाँले जानकारी गराउनुभयो ।


1354 पटक हेरिएको 

