खानेपानी, नदी नियन्त्रण र सिँचाईका २० करोड भन्दा बढीका योजना सम्पन्न हुने चरणमा

उदयपुर : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लामो समयदेखि  लकडाउन जारी रहदै गर्दा उदयपुरमा नदी नियन्त्रण र सिँचाईतर्फ २० करोड रुपैयाँ बढीका योजना सम्पन्न हुन लागेका छन् । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय उदयपुरका अनुसार चालु अर्थिक बर्षका लागि प्रदेश र संघीय सरकारबाट बजेट ब्यवस्था गरिएका अधिकांस योजनाको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ ।

नेपालमै पहिलो पटक कोरोना संक्रमित भेटिएको त्रियुगा नगरपालिकाको भूल्केमा संचालन हुनपर्ने सिँचाइका तीनवटा योजना र डिपिआर तयार भएपनि कोरोनाका कारण स्वीकृत हुन नसकेका एकाध बाहेक अन्य सबै योजना सम्पन्न हुन लागेको डिभिजन प्रमुख मेघराज ज्ञवालीले बताए ।

“ प्रदेश र संघीय सरकारबाट उदयपुरमा सिँचाई र नदी नियन्त्रणका लागि करीव २२ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको थियो” उनले भने,“ जसमध्ये करीव २० करोड ३५ लाखका योजना सम्पन्न हुने चरणमा पुगेका छन् ।” कोरोना महामारी र बन्दाबन्दीका कारण केही योजना संचालनमा ल्याउन नसकिएकाले करीव २ करोड रुपैयाँ भने फ्रिज भएर जाने सम्भावना बढेको उनले बताए ।

उदयपुरमा चालु आर्थिक बर्षका लागि नदी नियन्त्रण र सिँचाइतर्फ प्रदेश सरकारले १३ करोड र संघीय सरकारले ९ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराएका थिए । जसबाट जिल्लामा नदी नियन्त्रणका ३५ वटा र सिँचाईका २४ ओटा योजना सम्पन्न हुने अबस्थामा पुगेका छन् ।

“ हालसम्म प्रदेश तर्फको बजेटबाट ४ करोड ५० लाख र संघ तर्फको बजेटबाट ४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ” डिभिजन प्रमुख ज्ञवालीले भने,“ कतिपय योजना सम्पन्न भएर अन्तिम अनुगमनका क्रममा छन् भने कतिपय अबको एक हप्तामा सकिने अबस्थामा पुगेका छन् ।” योजनाको अन्तिम अनुगमन तथा मूल्यांकन पछि मात्र अन्तिम किस्ताको रकम भुक्तानी हुने उनको भनाई छ ।

जिल्लाका तावा, ककरु, यारी, सिवाई, भदौरी, बरुवा लगायतका खोलामा चालु आ.ब. मा प्राप्त भएको रकमले नदी नियन्त्रण गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेलका नगरपालिकाको मुर्तीखोलामा ६ करोड १७ लाख रुपैयाँ लागतको सिँचाई आयोजनाको ठेक्का लागिसकेको कार्यालयले जनाएको छ ।

“ प्रदेश सरकारले योजना संचालनका लागि बिस्तृत योजना प्रतिवेदन ९ डिपिआर ० लाई अनिवार्य सर्त बनाएको छ ” ज्ञवाली भन्छन्,“ गत सालसम्म पनि उदयपुरमा योजनाको ९डिपिआर० भएको देखिएन ।” यस पटक कार्यालयले डिपिआरको तयारी गर्दै गर्दा कोरोना महामारी फैलिएको र गर्न नसकिएका कारण पनि २ करोड रुपैयाँ फ्रिज हुने सम्भावना रहेको उनले बताए । यो खबर कारोबार दैनिकबाट लिएका हौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार