पुर्खाले बनाएको माने सरसफाइ र रंगरोगन, दुई युवाका लागि अवसर बन्यो लकडाउन

‘‘बौद्ध धर्मावलम्बीहरुको पुरातात्विक महत्वको यत्ति ठूलो सम्पति माटोमुनि पुर्न थालेको देखें, झारपातले ढाकिएर विरुप भएको देखेपछि लकडाउनको समय माने सरसफाइ र रंगरोगनमा लगाउन मन लाग्यो ।’’

सोलुखुम्बु : लकडाउनले देश ठप्प भएपछि काठमाडौ बस्दै आएका छिरिङ दोर्जी शेर्पा आफ्नै गाउँ सोलु दुधकुण्ड नगरपालिका २ तुम्बुकमा फर्किनुभयो । दुईचार दिन सजिलै बितेपनि त्यसपछिका दिनहरु कष्टकर बन्न थाले ।

भर्खर सहरबाट गाउँ आएको मान्छे साथीभाइको घरमा जान पनि नहुने, इन्टरनेट चलाएर समय बिताउन पनि निक्कै गाह्रो हुन थाल्यो । मनमा छट्पटी भएपछि पर्यटन व्यवसायी शेर्पाले एउटा योजना बनाउनुभयो । त्यो योजना थियो पूर्खाले निर्माण गरेको मानेको रंगरोगन र सरसफाइ गर्ने ।

उहाँ यो काम पहिले नै गर्न चाहनुहुन्थ्यो तर समय अभावले गर्दा उहाँको योजना पूरा हुन पाएको थिएन । उहाँले केही बट्टा रंग किनेर यो काम सुरु गरिहाल्नुभयो । शेर्पा भन्नुहुन्छ ‘यी मानेहरु हाम्रा पूर्खाले बनाएका हुन् । यसको संरक्षण गर्ने दायित्व हाम्रो हो, तर बौद्ध धर्मावलम्बीहरुको पुरातात्विक महत्वको यत्ति ठूलो सम्पति माटोमुनि पुर्न थालेको देखें, झारपातले ढाकिएर विरुप भएको देखेपछि लकडाउनको समय माने सरसफाइ र रंगरोगनमा लगाउन मन लाग्यो ।’


शेर्पाले उक्त योजना साथी ङिमा तेञ्जी लामालाई पनि सुनाउनुभयो । उहाँले पनि साथ दिएपछि माने सरसफाइ र रंगरोगन गर्ने योजनाले साकार रुप लिएको उहाँले बताउनुभयो ।

दुवै जना भएर अहिलेसम्म सोलु दुधकुण्ड नगरपालिका २ सालाबेशी, तुम्बुक, टाक्टोर लगायत ठाउँमा रहेका दर्जनौं मानेहरुको सरसफाइ तथा रंगरोगन गरिएको छ । माने रंगरोगन गर्न थालेको खबर देशविदेशसम्म फैलिएपछि उनीहरुको अभियानलाई अरुले समेत साथ दिएका छन् । छिरिङ दोर्जी शेर्पा भन्नुहुन्छ ‘हामीलाई गाउँलेले साथ दिनुभयो । फुर्सद भएकाहरु हामीसँग झार उखेल्न, सरसफाइ गर्न आए । फुर्सद नहुनेहरुले रकम सहयोग गरे । विदेशमा रहेका साथीभाइले समेत हाम्रो कामको प्रशंसा गर्दै सक्दो आर्थिक सहयोग गर्नुभयो । यसले गर्दा हामी दुई जनाले सुरु गरेको अभियानमा थप सहयोग पुग्यो ।’


दुई जना युवाको अभियानले अहिले विरुप भईसकेका मानेहरु टल्किएका छन् । मधुरा लामा अक्षरहरु प्रष्ट देखिने भएका छन् । माटोले पुर्न थालेका मानेको सग्लो रुप देखिएको छ । यसले गाउँको शोभा नै बढेको दुई अभियन्ता ङिमा तेञ्जी र छिरिङ शेर्पा बताउनुहुन्छ ।

‘माने सरसफाइ र रंगरोगन भएपछि गाउँको मुहार फेरिएको छ । पूर्खाले निर्माण गरिराखेको सम्पदा संरक्षण र संवर्द्वनमा एउटा इटा थप्न सफल भएको महसुस भएको छ’ शेर्पाले भन्नुभयो । मानेको संरक्षणबाट आन्तरिक तथा विदेशी पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्ने शेर्पाको अपेक्षा छ ।

उहाँ भन्नुहुन्छ ‘यी मानेहरु धेरै पहिलेका पुस्ताले बनाएका हुन् । अहिलेका युवा पिंढीको यसमा खासै ध्यान गएको देखिदैन । कालान्तरमा हेर्छु भने पनि हेर्न नपाउने अवस्थामा पुग्न सक्छ । त्यसैले यस्ता मानेहरुको संरक्षण गरिराख्न सके माने हेर्नकै लागि पनि पर्यटकहरु आउन सक्छन् । यसलाई जोगाउने काम स्थानीय बासिन्दा र स्थानीय सरकारको पनि हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार