
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका स्थित बहुमुखी क्याम्पस क्वारेन्टाइनमा सरसफाइ गर्ने २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा सरसफाइको काम गर्दै आएका श्रीमान्–श्रीमतीलाई नै कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रदेशले निकालेको सूचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउँदा प्रस्ट भएको प्रमुख शर्माले जानकारी दिनुभयो । संक्रमित दुवै जनाले क्वारेन्टाइनमा सुरुदेखि नै सरसफाइ गर्दै आइरहेका थिए । उनीहरुको सम्पर्कमा आएकाको पनि खोजी भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा कोरोनाबाट एक जनाको मृत्यु भईसकेको छ ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना देखिएकोमा स्याङ्जामा मात्रै दुई बालबालिका सहित २२ जनामा शुक्रबार कोरोना पुष्टि भएको छ । यसअघि बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण पुष्टि भए पनि शुक्रबार जिल्लामै रहेका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


1034 पटक हेरिएको 

