खानेपानी र सिँचाईमा लाग्ने डिमाण्ड शुल्क मिनाहा गर्ने व्यवस्था कार्यान्वयनमा

 1613 पटक हेरिएको
🔗
6
Shares

काठमाडौ : सरकारले बजेट भाषण मार्फत खानेपानी र सिँचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । विद्युत नियमन आयोगले सामुदायिक खानेपानी वर्ग र सिँचाई वर्गको डिमाण्ड शुल्क हटाउने निर्णय गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै डिमाण्ड शुल्क मिनाहा र विद्युत महसुलमा सहुलियत दिने बताउनुभएको थियो । हालै बसेको विद्युत नियमन आयोगको बैठकले सामुदायिक खानेपानी वर्ग र सिँचाई वर्गको डिमाण्ड शुल्क हटाउने, अन्य खानेपानी वर्गको डिमाण्ड शुल्क ३१.८२ ले घटाउने निर्णय गरेको हो ।

सामुदायिक खानेपानी भन्नाले नेपाल सरकार एवं सामुदायिक संस्थाहरुले खानेपानी प्रयोजनको लागि सञ्चालन गरेका संयन्त्रहरुमा विद्युत शक्ति प्रयोग गर्ने कार्यालय तथा संघसंस्थाहरु, नेपाल सरकार वा नेपाल सरकारले स्थापना गरेका फोहोर पानी प्रशोधन केन्द्रहरु भनी परिभाषित गरिएको छ । यस्तै अन्य खानेपानी भन्नाले गैर व्यापारिक प्रयोजनको लागि निजी क्षेत्रबाट सञ्चालित खानेपानीका संयन्त्रहरुमा विद्युत शक्ति प्रयोग गर्ने कार्यालय तथा संघसंस्थाहरु पर्दछन् ।

सिंचाई भन्नाले कृषि प्रयोजनको लागि सिँचाई संयन्त्रहरुमा कृषि मिटर जडान गरी विद्युत शक्ति प्रयोग गर्ने उपभोक्ताहरु भनी परिभाषित गरिएको छ । डिमाण्ड शुल्क मिनाहाको माग गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले लामो समयदेखि यस बिषयमा आवाज उठाउँदै आएका थिए । महासंघले खानेपानी मन्त्रालय, अर्थमन्त्रालय लगायत अन्य सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने र डिमाण्ड शुल्क मिनाहाको बिषयमा विभिन्न फोरमहरुमा समेत जोडदार माग राख्दै आएका थिए । एक वर्षअघि गठन भएको आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमाथि विश्लेषण गर्दै नयाँ महशुल समेत निर्धारण गरेको छ । जस अनुसार घरेलु उपभोक्तालाई घटाउँदै उद्योगलाई बढाएको छ । यसअघि २०७३ सालमा तत्कालीन विद्युत् महशुल निर्धारण आयोगले महशुल वृद्धि गरेको थियो ।

हेरौं नयाँ विद्युत महसुलको दर

आयोगका अनुसार २३० भोल्टको सिंगल फेज तल्लो भोल्टेजतर्फका ५, १५, ३० र ६० एम्पियरका ग्राहकलाई न्यूनतम (डिमाण्ड) शुल्क तर्फ ११.११ प्रतिशतदेखि ३३.३३ प्रतिशत तथा १० युनिटसम्म बाहेकका ग्राहकलाई इनर्जी शुल्कतर्फ ५ देखि ९.०९ प्रतिशत घटाइएको छ । ५ एम्पियरका ग्राहकका लागि भने १० युनिटसम्म इनर्जी शुल्क गरिए पनि डिमाण्ड शुल्क न्यूनतम ३० रुपैयाँ तिर्नुपर्नेछ ।

गार्हस्थ्य वर्गको ४०० भोल्ट अन्र्तगतको थ्री फेज तल्लो भोल्टेज तर्फ विद्युत् खपत गर्ने उपभोक्ता समूहको न्यूनतम शुल्कमा कुनै परिवर्तन नगरिए पनि मासिक ४०० किलोवाटसम्म घण्टासम्म विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ८ प्रतिशत र ४०० किलोवाट घण्टाभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ११.११५ घटाइएको आयोगले जनाएको छ ।

गार्हस्थ्य वर्गको थ्री फेज मझौला भोल्टेज अन्तर्गत ३३-११ केभीको लाइनबाट विद्युत् खपत गर्ने उपभोक्ता समूह अन्तर्गत मासिक २००१ किवा घण्टाभन्दा धेरै विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क ७.६९ प्रतिशतले घटाइएको छ भने बाँकी महसुल यथावत राखिएको आयोगले जनाएको छ ।

यातायातको चार्जिङ स्टेशनमा समेत नयाँ महशुल दर कायम गरिएको छ । तल्लो २३०-४०० भोल्टेजअन्तर्गत सार्वजनिक यातायाततर्फ डिमाण्ड शुल्क २ सय तथा प्रतियुनिट ५.७५ रुपैयाँ कायम गरिएको छ । अन्य यातायाततर्फ डिमाण्ड शुल्क २२० रुपैयाँ तथा ८.९० रुपैयाँ कायम गरिएको छ । यसले निजीतर्फका विद्युतीय गाडीका लागि चार्जिङ स्टेशनबाट चार्ज गर्दा महंगो पर्ने देखिएको छ ।

यसैगरी ३३ केभीको मझौला भोल्टेजको यातायातको चार्जिङ स्टेशन समेतको लागि सार्वजनिक यातायातलाई डिमाण्ड शुल्क २३० र प्रति युनिट इनर्जी शुल्क ५.६० रुपैयाँ तथा अन्य तर्फ डिमाण्ड शुल्क २५५ र इनर्जी शुल्क प्रतियुनिट ८.६० रुपैयाँका साथै ११ केभीतर्फ सार्वजनिक यातायातलाई ३३ केभीकै शुल्कसरह तथा अन्य यातायाततर्फ डिमाण्ड शुल्क २५५ रुपैयाँ तथा इनर्जी शुल्कतर्फ प्रति युनिट ८.८० निर्धारण गरिएको छ ।

१३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ । आयोगका अनुसार, माथिल्लो भोल्टेजतर्फ डिमाण्ड शुल्क २३० रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ८.२० रुपैयाँ कायम गरिएको छ । ६६ केभीको औद्योगिकतर्फ भने डिमाण्ड शुल्क यथावत राखिएपनि इनर्जी शुल्क १०.६७ प्रतिशत वृद्धि गरी ८.३० कायम गरिएको छ ।

६६ केभीको औद्योगिकतर्फ भने डिमाण्ड शुल्क यथावत राखिएपनि इनर्जी शुल्क १०.६७ प्रतिशत कायम गरिएको छ । डेडिकेटेड लाइन मार्फत जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैह्र–व्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई हटाई ६६ केभी लाइनमार्फत विद्युत् खपत गर्ने औद्योगिक ग्राहकको इनर्जी शुल्कमा १४.४६ सम्मको मात्र वृद्धि गरिएको छ । जसले गर्दा यस वर्गका ग्राहकले ने.वि.प्रा.लाई तिर्नुपर्ने अतिरिक्त शुल्कमा ५० प्रतिशत भन्दा बढीले कमी आउने आयोगको दाबी छ । टाइम अफ डे (टीओडी) मिटर जडान गरेका उपभोक्ताहरूको हकमा यातायात तथा १३२ के.भी. लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरूका लागि नयाँ महसुल दर कायम गरिएको छ ।

औद्योगिक ग्राहकतर्फ १३२ केभीको नयाँ शुल्क प्रति महिना प्रति केभीए डिमाण्ड शुल्क २३० कायम गरिएको छ भने पिक समयको साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट १० रुपैयाँ तथा राति ११ बजेदेखि बिहान पाँच बजे ९रातिको समय०सम्म प्रतियुनिट ४.६५ र अन्य समयमा ८.२० तथा ६६ केभीतर्फ प्रति महिना प्रति केभीएको डिमाण्ड शुल्क २४० यथावत राखेर पिक समयका लागि ८.६० प्रतिशत वृद्धि गरेर १०.१० तथा रातीको समयमा १४.४६ प्रतिशत बढाएर ४.७५ तथा अन्य समयमा १०.६७ प्रतिशत बढाएर ८.३० पुर्याइएको छ ।

टीओडीतर्फ सामुदायिक खानेपानी उपसमूहको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २२.९५ प्रतिशतसम्मको कटौती गरिएको छ र अन्य खानेपानीको डिमाण्ड शुल्क ३१.८२ प्रतिशतले घटाइएको छ । साथै सिंचाई वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने बाँकी महशुल यथावत राखिएको छ ।

चार्जिङ स्टेशनसहितको सार्वजनिक यातायातका लागि डिमाण्ड शुल्क नलाग्ने गरी नयाँ टाइम अफ डे (टिओडी) विद्युत् महसुल दर कायम गरिएको छ । पिक समयमा प्रति युनिट ६.२०, रातीको समयमा ३.७० तथा अन्य समयमा ५.५० तथा अन्य यायाततर्फ भने डिमाण्ड शुल्क २५५ कायम गरेर पिक समयमा यथावत राखी प्रति युनिट ९.३५, राती समयमा ३.७० तथा अन्य समयका लागि ८.४० कायम गरिएको छ । यसले सार्वजनिक यातायात प्रोत्साहन दिएपनि नीजिलाई पनि दिएको देखिदैन ।

आयोगका प्रवक्ता डा। रामप्रसाद धितालले विद्युत् खपत वृद्धि गर्ने गरी आयोगले महशुल समायोजन गरेको बताउनुभयो । प्राधिकरणले आफ्नो आ.व.२०७५/७६ र आ।व। २०७६/७७ को औसत पूँजीको ८.५२ प्रतिशत प्रतिफल माग गरेकोमा आयोगले प्राधिकरणको कूल स्थिर सम्पत्तिको लागत मूल्यको ३० प्रतिशत रकमलाई पूँजी लगानी भन्ने आधार मानी उक्त पुँजीको ८.५२ प्रतिशत हुने रकम ४ अर्ब ८८ करोड ३९ लाख ९६ हजार प्रतिफलको रुपमा स्वीकृत गरेको र जुन रकम प्राधिकरण प्रक्षेपण गरेको औसत पुँजीको ३.८५ प्रतिशत हुन आउने प्राधिकरणले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार