गृहिणीलाई धुवाँ धुलोबाट जोगाउन ग्यास सिलिन्डर वितरण

बारा : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ र २ का गृहिणीलाई ग्यास सिलिन्डर वितरण गरिएको छ । धुवाँ धुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका बासिन्दालाई ग्यास सिलिन्डर वितरण गरिएको हो । धुँवाधुलोबाट हुने संक्रमणबाट जोगाउन र नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान स्वरुप सिलिन्डर वितरण गरिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभयो ।

उहाँका अनुसार यस अभियान अन्तर्गत नगरक्षेत्रको खुला स्थान र सडक किनारमा वृक्षारोपण गर्ने, खाना पकाउँदा चुल्होबाट निस्कने धुवाँलाई न्यूनीकरण गर्न करिब अढाई हजार परिवारको महिलालाई ग्यासको प्रयोग गर्न प्रोत्साहन गर्न थालिएको छ ।

पहिलो चरणमा महागढीमाई नगरपालिकाको वडा नम्बर–१ र २ का गृहिणीलाई नमूनाको रुपमा १५ किलो ग्यास भरिएको सिलिण्डर वितरण गरिएको नगरप्रमुख यादवले बताउनुभयो । महिलाको लागि यसरी वितरण गरिएको ग्यासस हितको सिलिण्डरले धेरै फाईदा पुग्ने सोही ठाउँकी ललिता देवीले बताउनुभयो । प्रविधिको जमानामा पनि दाउराले दिनहुँ खाना बनाउँदै आएकोमा मेयर यादवको यस्तो कार्यक्रमले धुवाँधुलोबाट महिला सुरिक्षत हुने ललिता देवीले बताउनुभयो ।

दाउराबाट खाना पकाउँदा वातावरणमा नकारात्मक असर पर्ने, बनजंगल नष्ट हुने र धुवाँ धुलोले मानव स्वास्थ्यमा समेत असर परेपछि ग्यास सिलिण्डर वितरण गरिएको हो । ग्यास खरिदमा करिब ८० लाख रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार