
काठमाडौ : काठमाडौ उपत्यकाभित्र शहरी विकास मन्त्रालय र काठमाडौ उपत्यका विकास प्राधिकरणले थालनी गरेको उप सहरहरुको निर्माण प्रकृया अविलम्व रोक्न माग गरिएको छ । भक्तपुर नगरपालिकाको आइतबार सुरु भएको सातौ नगरसभा उदघाटन कार्यक्रमका वक्ताहरुले उपत्यकाभित्र उप सहरहरु निर्माण गर्नुको सट्टा उपत्यकाबाहिर स–साना सहरहरूको विकासमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
सरकारले काठमाडौ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा र १० हजार रोपनीको ३ वटा गरी ४ वटा उपसहरहरु निर्माणको प्रक्रिया अगाडि बढाएको छ । उपसहर निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित गरी कामलाई अगाडि बढाईसकेको छ । नगरसभाका बक्ताहरुले उपत्यकामा फोहोरमैला व्यवस्थापन, खानेपानी, ट्राफिक जाम र वातावरण प्रदुषण जस्ता समस्याहरू दिनानुदिन बढिरहेको अवस्थामा उपत्यका भित्रै उपसहर निर्माण गर्दा यस्ता समस्या झन् थपिदै जाने बताए ।
उपत्यकामा प्राचीनकालदेखि साँस्कृतिक केन्द्रको रुपमा विकसित सहरहरू भएको हुँदा त्यसको मौलिकता बचाई उपत्यका लाई साँस्कृतिक केन्द्रकै रुपमा संरक्षण गर्नु आवश्यक रहेको उनीहरुले बताए ।
संघीय साँंसद् प्रेम सुवालले उपत्यकामा थुप्रिएको जनसंख्यालाई छर्न उपत्यकाभित्र नभई बाहिर स – साना सहरहरुको विकास गर्नुपर्ने बताउनुभयो। नगरपालिका प्रमुख सुनिल प्रजापतिले साँंचो अर्थमा विकेन्द्रकरण भनेकै उपत्यकामा मात्रै केन्द्रित विकासलाई अन्य ठाउँमा पनि समान तरिकाले विकास हुनुपर्ने बताउनुभयो ।


986 पटक हेरिएको 

