
कालिकोट: कालिकोट जिल्लामा जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसी) गठन गरिएको छ। जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको खानेपानी तथा सरसफाइ सरोकारवालाहरुको भेलाले १३ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेशका सबै जिल्लामा डिवाससीसीको पुनर्गठन गर्न केही दिन अघि परिपत्र गरेको थियो । समितिको परिपत्र अनुसार कालिकोटमा नयाँ संरचना अनुसार समन्वय समिति गठन गरिएको हो। खानेपानी तथा सरसफाइ अभियानलाई नयाँ ढंगले सक्रिय पार्ने उद्देश्यका साथ मंगलबार डिवाससीसी पुनगर्ठन गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले जानकारी दिनुभयो ।
नवगठित समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही र उपाध्यक्षमा उपप्रमुख लक्ष्मी बिष्ट नेपाली तथा सचिवमा जिल्ला सिंचाइ खानेपानी तथा उर्जा विकास कार्यालयका प्रमुख मंगल शाही रहनु भएको छ। यसैगरी सदस्यहरुमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्ला स्वास्थ्य, जिल्ला शिक्षा तथा समन्वय इकाई, सामाजिक विकास कार्यालयका प्रमुखहरुका साथै फेडवासन, गैसस महासंघ, पत्रकार महासंघ, रेडक्रस, सेभ द चिल्ड्रेन र किर्डाक नेपालका प्रमुखहरु हुनुहुन्छ ।
भेलाले गाउँ तथा नगरपालिका तह सम्ममा स्वच्छता समन्वय समिति गठनका लागि अग्रसरता लिने र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि खानेपानी तथा सरसफाइ केन्द्रित कार्यक्रमहरु सञ्चालन, व्यवस्थापन तथा अनुगमन गर्ने समेत निर्णय गरेको छ।


1575 पटक हेरिएको 

