भरतपुर : भरतपुर अस्पतालको प्रयोगशालामा पाँच जना पुरुष साथीहरू र म कार्यरत छौं। पीपीई सेट निरन्तर कम्तीमा ७/८ घण्टा लगाउनुपर्छ। अहिले हामी तत्कालको जोखिम मात्र होइन, दीर्घकालीन स्वास्थ्य जटिलताको बीचमा काम गरिरहेका छौं। मुख्य कुरा, शौचालय जान नमिल्ने भएकाले दिसा–पिसाब समेत रोकेर राख्नुपर्छ। पिसाब आउला भनेर पानी कम खानुपर्छ।

यो विषय चीनको वुहानका स्वास्थ्यकर्मीहरुले पनि उठाएका थिए। तर, यति संवेदनशील समस्याबारे नेपालमा अहिलेसम्म कुनै व्यवस्था भएको छैन। यो त अस्पताल व्यवस्थापन र सरकारले बुझ्नुपर्ने हो।
पीपीई सेट लगाएर लामो समय काम गर्न निकै गाह्रो छ। अझ महीनावारी हुँदा झन् गाह्रो हुन्छ। लामो समय प्याड फेर्न नपाउँदा संक्रमणको जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै एउटै प्याड बिहानदेखि बेलुकासम्म प्रयोग गर्नुपर्छ। कोरोनाभाइरस विरुद्धको लडाइँमा खट्ने अरु महिलाहरूको अवस्था पनि मेरो जस्तै होला।
महीनावारी हुँदा मलाई पाँच दिनसम्म रगत बग्छ, दुई दिन अत्यधिक पेट दुख्छ। कोभिड–१९ को परीक्षण शुरु भएयता दुई पटक महीनावारी भएँ। पेट दुख्दा अरु वेला तातोपानी खान्थे, आराम गर्थें। दुखाइ कम गर्ने औषधि कहिल्यै खाएको थिइनँ। तर, अहिले त काम गर्नैपर्ने भएकाले औषधि खाएँ। दुखाइमा काम गर्न सकिंदैन, आलोपालो काम गर्ने अवस्था समेत छैन। स्वाबको नमूना आउने क्रम दैनिक बढेको बढ्यै गर्दा कामको चाप थपिएको छ। यसले हाम्रो स्वास्थ्य समस्या थप बढाएको छ।
पिसाब रोक्नुपर्ने समस्या त पुरुषहरुलाई पनि उस्तै हो। केहीले डाइपर लगाउनुहुन्छ। हाम्रोमा केही पुरुष साथीहरुले शौचालय जार्नुपर्ने इमर्जेन्सी परेमा पिसाब गर्ने ठाउँमा पीपीईलाई ब्लेडले काटेर पिसाब गर्ने र त्यसमा पछि टेप लगाउने गर्नुभएको छ। त्यो पनि जोखिम हो। तर, पीपीई महँगो छ, फेरिरहन संभव छैन। हाम्रो त पानी कम खाने, पिसाब रोक्ने बानी नै परिसक्यो। यो समस्या अन्य प्रयोगशालाका साथीहरुले पनि भन्नुहुन्छ।
यो समस्या हटाउन पीपीई लगाएर लामो ड्यूटी गर्ने अवस्था नहुने गरी जनशक्ति व्यवस्थापन गर्नुपर्छ। आपत् परेको समयका लागि अतिरिक्त पीपीई र पीपीई सेटमै डाइपरको व्यवस्था हुने हो भने काम गर्दा ढुक्क हुन्थ्यो। ड्युटी सकिए पनि हामीले क्वारेन्टिनमा बस्नुपर्ने भएकाले प्याड किन्न जान समेत पाउँदैनौं। फ्रन्टलाइनमा खटिनेहरूको यस्तो कठिनाइ बुझेर सहज बनाइदिनुपर्छ।
साभार : हिमाल खबर पत्रिका


4373 पटक हेरिएको 

