नाल्मा गैरीगाउँको ४२ घरमा घरघरै धारा


लम्जुङ : एक घर एक धारा अभियानलाई तिव्रता दिँदै आएको बेसीशहर नगरपालिकाले बेंसीशहर नगरपालिका ५ नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्‍याएको छ । बेसीशहर नगरपालिकाले चालु बर्षकै बजेट ८ लाख र श्रमदान २ लाख ८१ हजार रुपैयाँ गरी १० लाख ८१ हजारमा गैरी गाउँमा घर घरमै खानेपानीको धारा पुर्‍याएको हो । एक घर एक धारा अभियानबाट ४२ घर लाभान्वित भएका छन् ।

गैरीगाउँ खानेपानी एक घर एक धारा खानेपानी आयोजनाको बुधबार उद्घाटन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानी नागरिकका लागि अति आवश्यकता भएकाले नगरपालिका भित्रका सबै गाउँमा एक घर एक धाराको अभियान सञ्चालन गरेको बताउनुभयो । पानी जीवन भएकाले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाले नागरिकको आवश्यकता अनुसार काम गर्दै आएको समेत बताउनुभयो । पानीको प्रशस्त उपलब्धता भएका ठाउँका स्थानीयले कृषि उत्पादनको काम गरी आयआर्जन बृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख अर्यालले हरेक नागरिकलाई उत्पादनसँग जोडिन र आत्मनिर्भर हुन अनुरोध गर्नुभएको छ । अहिले कोरोना भाइरस (कोभिड – १९) संक्रमणका कारण लकडाउन भएपछि समस्या परेका नागरिकलाई नगरपालिकाले सक्दो सहयोग गरेको उहाँले बताउनुभयो ।

बेसीशहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले गाउँमा पानीको सुविधा भएसँगै परम्परागत शैलीको खेती प्रणाली भन्दा आधुनिक प्रणालीका खेती गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लागेर आत्मनिर्भर हुन अनुरोध गर्नुभयो । युवालाई, महिलालाई स्वरोजगार बनाउन नगरपालिकाले अनुदान दिँदै आएकाले कृषिमा लाग्नुपर्ने उहाँको भनाइ थियो । बजारको तरकारी गाउँमा ल्याउन छोडेर गाउँमा उत्पादन गरेको तरकारी बजार पु¥याउन सके आयआर्जमा सघाउ पुग्ने र घर व्यवहार चलाउन सहज हुने उहाँले बताउनुभयो ।

वडा नम्बर ५ का वडा अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद गुरुङ, अन्नपूर्ण युवा क्लबका सचिव श्यामकुमार गुरुङ, एक घर एक धारा अभियानका दलित सदस्य रविन विक लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

खानेपानी उद्घाटनमा नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटका सदस्य विवश बुढाथोकी, नेपाली काँग्रेसका जिल्ला सदस्य तिरकाशी गुरुङ, नेकपा वडा कमिटीका अध्यक्ष इन्द्रबहादुर गुरुङ, नेपाली काँग्रेसका वडा सभापति भिमबहादुर शाही, प्राविधिकहरु विशाल ढकाल र महादेव शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण लाङ्दीदेवी प्रथामिक विद्यालयका प्रधानाध्यपक राजु गुरुङले गर्नुभएको थियो ।

उक्त वडामा गत बर्ष दलितबस्तीमा १९ घर र घरेडीकोँमा ९ घरमा एक घर एक खानेपानी जडान गरिएको थियो । नगरपालिकाले आगामी बर्ष पनि एक घर एक धारा अभियानलाई तिव्रता दिँदै सबै गाउँबस्तीमा प्रथामिकताका आधारमा खानेपानी आयोजना संचालन गर्ने नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार