
बाँके : बाँके र बर्दियामा आपूर्ति भईरहेको खानेपानीको श्रोत गुणस्तरयुक्त भेटिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय बुटवलको ल्याब शाखाले गरेको परीक्षणमा खानेपानीको श्रोत गुणस्तरयुक्त भएको पुष्टि भएको हो । कार्यालयले बाँके र बर्दियामा सञ्चालित खानेपानी आयोजना, नेपाली सेना, प्रहरीका व्यारेक तथा विभिन्न पानी उद्योगहरु सहित सय भन्दा बढी पानीको श्रोत परिक्षण गरेको थियो ।
ती खानेपानीको नमुनाहरु लिएर पानी परिक्षण गर्दा पानीको गुणस्तर राम्रो पाईएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलका ल्याब शाखा प्रमुख केमिस्ट रबिकिरण आचार्यले जानकारी दिनुभयो। पानी परिक्षण टोलीले नेपाली सेनाको श्रीमेहर गण कोहलपुर चिसापानी व्यारेक लगायत अन्य पोस्टहरु, नेपाली सेनाको राँझा व्यारेक, सशस्त्र प्रहरी गण नौवस्ता, सैनिक आवाशीय विद्यालय कौशिला नगर, बरपिपल, मध्यपश्चिम, लाइफ ओके लगायत खानेपानी आयोजनाहरुको परिक्षण गरेको थियो ।
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, खानेपानी तथा सरसफाइ महासंघ बाँकेको पहलमा र खानेपानी उपभोक्ता महासंघ बाँकेको अनुरोधमा ल्याब शाखाले घुम्ती शिविर मार्फत पानीका श्रोतहरुको परिक्षण गरेको हो ।
पानीको श्रोत गुणस्तरयुक्त रहेपनि केही धाराहरुमा सरसफाइको कमिले पानी दुषित रहेको शाखाले जनाएको छ । महामारीको समयमा खानेपानी क्षेत्रको गुणस्तर र प्रभावकारितालाई ध्यानमा राख्दै पानीका श्रोतको परिक्षण गरेको कोहलपुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्ले बताउनुभयो ।
कहीकतै खानेपानीको गुणस्तरमा कमी भए मानवीय स्वास्थ्यमा समस्या आउने भएकाले कोहलपुर खानेपानी उपभोक्ता संस्थाले आफ्नै आर्थिक लगानीमा पानी परिक्षण घुम्ती शिविर गरेको अध्यक्ष मल्ले बताउनुभयो। अधिकांश पानीका श्रोत गुणस्तरयुक्त रहे पनि कतिपय खानेपानी श्रोतहरुमा पानी निर्मलिकरण गरेर मात्रै प्रयोग गर्न परिक्षण टोलीले सुझाव दिएको छ । सुरक्षा निकायमा प्रयोग गर्ने पानी भने गुणस्तरयुक्त पाइएको टोलीले बताएको छ । खानेपानी संचालन गर्दा पानीको श्रोत देखि मानिसले प्रयोग गर्ने बेलासम्म विभिन्न माध्यम हुँदै आउने भएकाले ख्याल गर्नुपर्ने उहाँको सुझाव छ ।
नेपाल सरकार खानेपानी गुणस्तर मापदण्ड २०६२ अन्तर्गत रही खानेपानी सुरक्षा योजना अन्तरगत खानेपानी परिक्षण घुम्ती सेवा ७ वटै प्रदेशमा सञ्चालित छ ।


1574 पटक हेरिएको 

