
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ चैना गाउँमा लकडाउनको समयमा ४५ घरमा खानेपानी धारा निर्माण गरिएको छ । नगरपालिका नजिकैको बस्ती भएपनि हाल सम्म खानेपानीको प्रबन्ध नभएको चैना गाउँमा घरघरै धारा बनाईएको हो । पानी लिन जाँदा आउँदा आधा घण्टा हिड्न बाध्य रहेका चैन गाउँका बासिन्दा लकडाउनकै अवधिमा घर घरमै धारा निर्माण भएपछि खुसी भएका छन् ।
दुई किलो मिटर टाढाबाट पाईप लाईन मार्फत ल्याएको पानीलाई जम्मा गर्न १२ हजार घनमिटरको रिजर्भ्वायर ट्याङ्की निर्माण गरी चैना गाउँका प्रत्येक घरधुरीलाइ आँगनमै खानेपानीक धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष मान प्रसाद चौलागाईले बताउनुभयो ।
धारा निर्माण नहुँदासम्म सबै गाउँलेले चैना खोलामा रहेको पुर्खौदेखि उपयोग गर्दै आएको धाराको पानी खादै आएका थिए । अहिले आँगनमै धारा निर्माण हुँदैछन् । पानी लिन जाँदा आउँदा मात्र लाग्ने आधा घण्टाको समयमा घरको अन्य काम गर्न सकिने भएको छ । पानी खाने दुःखका दिन केही दिनमै हट्ने भएका छन् । बनेका धारा बालमैत्री छन् । आँगनमै भएका धाराको पानीले घर अगाडिको करेसाबारीमा सिंचाई समेत हुने भएको छ । दैनिक सरसफाइमा ध्यान जाने भएकाले घर घरमा धारा निर्माण हुँदा गाउँबासी साह्रै खुसी भएको उपभोक्ता समितिका अध्यक्ष मान प्रसाद चौलागाईले बताउनुभयो ।
छाँयानाथ रारा नगरपालिकाबाट आर्थिक बर्ष २०७६/७७ मा बिनियोजित ११ लाख रकममा ईन्टेक निर्माण सहित पाईपलाइन बिछ्याउने काम र बाँकी रिजर्भ्वायर ट्याङ्की निर्माण सहित एक घर एक धारा निर्माण गरिएको हो । युनिसेफ नेपालको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र हिरिसडेक मुगुले ७ लाख ७१ हजार ७ सय ५० को लागतमा निर्माण कार्य थालनी गरेको हो ।


2092 पटक हेरिएको 

