महिला मन्त्रीलाई महिनावारी सञ्जालको चिठी : ‘सहयोगीको भूमिका निर्वाह गर्न प्रतिवद्ध छौं’

 

काठमाडौ : महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन सरोकार सञ्जालले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङलाई पत्र पठाई मर्यादित महिनावारी कार्यक्रमको बिषयमा जाहेर गरेको प्रतिवद्धता प्रति धन्यबाद ज्ञापन गरेको छ । सञ्जालले केही दिन अघि आयोजना गरेको वेबिनार जूम छलफलमा गरेको प्रतिबद्धता र सरकारको भावी योजनाका बिषयमा जानकारी गराएकोमा हर्षित तथ उत्साहित भएको जनाएको हो ।

महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन सरोकार सञ्जालले यही मे २८ तारीखका अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारी कोभिडः महिला र महिनावारी विषयमा वेबिनार जूम छलफल गरिएको थियो । उक्त छलफलमा सहभागी भई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले मर्यादित महिनावारीको राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा निरन्तरता दिइने लगायत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सञ्जालको तर्फबाट राष्ट्रिय संयोजक गुणराज श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा सरकारको भावी योजनाहरुको कार्यान्वयनमा सञ्जाल तथा सञ्जालका सदस्यहरु सहयोगी भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको समेत जनाएको छ ।

मन्त्री गुरुङले गरेका प्रतिबद्धताहरु :

अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा कोभिडः महिला र महिनावारी विषयमा गरिएको वेबिनार जूम छलफलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले निम्न प्रतिवद्धता तथा भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।

♦ मर्यादित महिनावारीको राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा निरन्तरता दिइनेछ ।

♦  मर्यादित महिनावारी राष्ट्रिय नीति यथासिघ्र पारित गरी लागू गरिनेछ

♦  अपाङ्ग, विपन्न तथा सिमान्तकृत महिलावर्गलाई महिनावारी सामाग्री निशुल्क वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

♦  स्थानीय सरकारलाई सुरक्षित महिनावारी सामाग्री वितरणमा जिम्मेवार वनाइनेछ ।

♦ महिनावारी सामाग्री उत्पादनमा प्रयोग हुने कच्चापदार्थमा लाग्ने करलाई घटाई महिनावारी सामाग्री सस्तो र सुलभ बनाइनेछ

♦  घरेलू उद्योग तथा महिला उद्यमीहरुलाई Decompostable अथवा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड उत्पादन गर्न उचित प्रश्रय तथा व्यवस्था मिलाइनेछ ।

♦ सुरक्षित महिनावारी सामाग्री प्रयोगकर्ता महिलाको संख्या अर्को एक वर्षमा १५ प्रतिशतबाट बढाएर १०० प्रतिशत पुर्‍याउने लक्ष्य लिइनेछ ।

♦ कोभिड–१९ रोकथाम तथा प्रतिकार्यमा स्वच्छता सामग्रीको किटमा सुरक्षित महिनावारी सामाग्री पनि अनिवार्य रुपमा समावेश गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

♦  स्थानीय सरकारको अगुवाइमा छाउपडि प्रथालाई यथासिघ्र अन्त गरिनेछ ।

♦ महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सामाजिक विकास कार्यक्रममा मर्यादित महिनावारी कार्यक्रमलाइ पनि समाहिकरण गरिनेछ ।

♦ मर्यादित महिनावारीको राष्ट्रिय अभियानमा नेपाल सरकार महिनावारी सरोकार संजाल तथा अन्य सरोकारहरुसंग सहकार्य गर्न प्रतिवद्धता व्यक्त गर्दछ ।

♦  महिनावारी सम्बन्धी गुनासो तथा अन्य सूचना प्रचारप्रसारका लागि नेपाल सरकारले हट लाइनको व्यवस्था गर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार