खानेपानीले चलेको कश्मेटिक पसल, पसलले धानेको परिवार


सप्तरी : भनिन्छ, दुई सन्तान ईश्वरको बरदान । सप्तरीको सुरुङ्गा नगरपालिका २ भेडियाकी शैलु कुमारीले पनि ईश्वरकै बरदान पाउनुभएको थियो । एक छोरा, एक छोरी र श्रीमान् श्रीमती । ४ जनाको सानो परिवारको सम्पूर्ण खर्च खेती किसानीबाटै धान्दै आएका थिए ।

शैलु कुमारीसँग माइतीले दिएको ७ कठ्ठा जमिन थियो । त्यही जमिन उहाँको कमाईको मुख्य स्रोत थियो । तर ईश्वरको बरदान साबित शैलुको परिवारमा एक दिन नसोचेको घटना भयो ।

कुरा दश बर्ष अघि अर्थात २०६६ सालको हो । शैलुका श्रीमान् मोटरसाइकल दुर्घटनामा पर्नुभयो । शैलुले श्रीमान्को उपचार गर्दा माइतीले दिएको ७ कट्ठा जमिन पनि गुमाउनुभयो । त्यसपछि शैलुको जीवन ठूलो आर्थिक भूमरिमा पर्न थाल्यो । शैलु भन्नुहुन्छ ‘मैले श्रीमानलाई उपचारको भारतको सिलिगुडी लागें, उपचारमा १० लाख भन्दा बढी खर्च लाग्यो । यसका लािग मैले माइतीले दिएको जमिन पनि बिक्री गरें ।’

त्यसपछि के गर्नुभयो त ? शैलु भन्नुहुन्छ ‘मैले घर व्यवहार चलाउन धान किनेर उसिना गरि चामल कुटेर बेच्न थालें । घरको सबै जिम्मेवारी आफ्नो काँधमा आएपछि मलार्य दैनिकी चलाउन अत्यन्त मुश्किल पर्न थाल्यो । ४ जनाको परिवारलाई आफनो खेतको उब्जनीले ५ महिना पनि खान नपुग्ने स्थिति भयो । छोरा छोरीलाई पढाउने सपना चकनाचुर हुने हो कि भन्ने चिन्ताले मलाई दिनरात सताउन थाल्यो ।’

जति काम गर्दा पनि छोराछोरीलाई पढाउन र दैनिकी चलाउन समेत हम्मे हम्मे परिरहेको बेला चार बर्ष अघि भेडिया खानेपानी तथा सरसफाइ आयोजना शुरु भयो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग तथा श्रीपुर्राज सामुदायिक विकास केन्द्र (SCDC) को सहजीकरणमा सुरु भएको खानेपानी आयोजना अन्तर्गत विभिन्न समिति तथा समूहहरु गठन भए । सुरुङ्गा नगरपालिका २ भेडियामा गठन भएको जीविका कार्यक्रम अन्तर्गतको शिव सन्यासी प्राविधिक महिला समूह नै शैलु चौधरीको जीवनको लागि बैशाखी साबित भयो ।

शिव सन्यासी महिला प्राविधिक समूह गठन भैसकेपछि व्यवसाय सञ्चालन गर्ने ५ जना सदस्यहरु मध्ये शैलु कुमारी चौधरी पनि एक हुनुहुन्छ । शैलु कुमारी भन्नुहुन्छ ‘भेडिया खानेपानी तथा सरसफाइ आयोजना शुरु भएपछि जीविका कार्यक्रम अन्तर्गत शिव सन्यासी महिला प्राविधिक समूह गठन भयो र म त्यस समुहको सदस्य बनें। प्रत्येक महिनाको ६ गते समुहको बैठक बस्छ ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्रबाट सर र म्याडमहरुले हामी सबैजनालाई खानेपानी तथा सरसफाइ आयोजना शुरु भए लगत्तै समुहमा बसाएर बचत तथा ऋण लगानी, समूह सञ्चालन, खानेपानी तथा सरसफाइ एवं ग्रामीण महिलाहरुका लागि सुहाउँदो व्यवसाय, महिला हक अधिकार, बालबालिका स्याहार, महिला प्रजनन् स्वास्थ्य र आत्मनिर्भर कसरी बन्ने आदि बारेमा विभिन्न छलफल चलाउनुभयो । जुन हामीे सबैको लागि र सधैंको लागि असाध्यै राम्रो र जीवनोपयोगी साबित भयो ।’

खानेपानी तथा सरसफाइ आयोजनाको कार्यक्रमबाट प्रभावित हुनुभएकी शैलु कुमारीले महिला प्राविधिक समूहको सदस्य भएपछि मासिक २० रुपैयाँ बचत गर्न थाल्नुभयो । उहाँले विभिन्न तालिममा भाग लिनुभयो । जसका कारण उहाँको साहस, निर्णय गर्न सक्ने तथा बोल्ने क्षमताको विकास भयो । श्रीपुर्राज सामुदायिक विकास केन्द्रले चलाएको व्यवसाय सञ्चालन सम्वन्धी छलफलमा भाग लिएपछि उहाँले कस्मेटिक पसल खोल्ने योजना बनाउनुभयो ।

अहिले शैलु कुमारी चौधरीले कस्मेटिक पसल खोल्नुभएको छ । पसलबाट दैनिक ५ सय देखि ७ सय रुपैयाँ सम्म कमाउनुहुन्छ । जसले गर्दा परिवारको दैनिक खर्च धान्न सजिलो भएको शैलुले सुनाउनुभयो । ‘शुरुमा पसल व्यवस्थापन गर्न नसकेर समस्या भएतापनि अहिले श्रीपुर्राज सामुदायिक विकास केन्द्रबाट सर र म्याडमहरुले आवश्यक सल्लाह र सहयोग गरेपछि सजिलो भएको छ । मैले समूहबाट सहुलियत दरमा ७ हजार रुपैयाँ ऋण लिएर व्यवसाय विस्तार गरेकी छु ।’ उहाँले भन्नुभयो ।

माइतीले दिएको खेत पनि श्रीमान्को उपचार गर्दा गुमाउनु परेपछि इन्तु न चिन्तु भएकी शैलुलाई अहिले घर व्यवहार चलाउन सजिलो भएको छ । उहाँ भन्नुहुन्छ ‘अहिले विस्तारै सजिलो हुँदैछ र आत्मनिर्भर बन्न सक्छु भन्ने लागेको छ । छोरा वि वि एस पढिरहेको छ र छोरीले पनि १२ पास गरी सकी । अझै पढाउने विचार गरेकी छु । अब जीवनै कसरी चलाउने भन्ने चिन्ता चाहिं लाग्न छाडेको छ ।’

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिका जीविका विज्ञ संगीता गिरी दास र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका तर्फ बाट लक्ष्मी प्रसाद चौधरीद्धारा तयार पारिएको सफलताको कथा ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार