
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा जुठ्यान निर्माणका लागि सिमेन्ट, पाइप र बालुवा लगायत सरसफाइ सामग्री वितरण गरेको छ । जुठ्यान र चर्पी बनाउन नसक्ने वडा नं. १० का ६० परिवारलाई ६० वोरा सिमेन्ट र पाईप वितरण गरिएको वडा अध्यक्ष धर्म राजजोशीले जानकारी दिनुभयो । यस्तै वडा नं ७ का बिपन्न परिवारका लागि ३३ वोरा सिमेन्ट बितरण गरिएको ७ नं. वडाका अध्यक्ष भवन सिं केसीले जानकारी दिनुभयो ।
वडा नं ८ का ७१ परिवार ७१ वोरा सिमेन्ट र १४२ वोरा बालुवा समेत बितरण गरिएको वडा अध्यक्ष टेक ब. रावलले जानकारी दिनुभयो । यसैगरी वडा नं. ४ मा ४५६ परिवारलाई एक एक वटा हर्पिक र ब्रस बितरण गरिएको वडा अध्यक्ष राम ब. कटुवालले जानकारी दिनुभयो ।
समुदाय स्तरिय समिति परिचालन भई वडा तथा गाउँपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिको नेतृत्वमा अभियान सञ्चालित छ । पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी वनाउन विद्यालय, समुदाय तथा टोललाई पूर्ण सरसफाइ नमुना टोल वनाई अभियान सञ्चालन भइरहेको छ । जि. एस एफ. यूएन ह्याबिटाटको सहयोग तथा बुढीगंगा नगरपालिकाको सहजीकरणमा विकास भएका ४ वटा नमूना टोललाई मध्यनजर गरी वडा स्तरिय खानेपानी तथा सरसफाइ स्वच्छता समितिले अनुगमन गरिरहेको छ ।
सबै वडाह्ररुमा सुरक्षित खानाका लागि भान्सा घरको सरसफाइ, सुधारिएको चुलो, पानी राख्ने भाँडाकुँडा, पकाउने कुराको सरसफाइ सचेतना र भान्सा घर तथा घर वरपरबाट निस्केका कुहिने र नकुहिने फोहोरमैला व्यवस्थापनका लागि स्थायी प्रकारका घरैपिच्छे फोहोर मलाई निर्माण, धोएका भाडाकुडा राख्ने चाङ्ग निर्माण, धारोको वरिपरी प्लेटफर्म निर्माण, भाँडा माझ्ने जुठेल्नो र मसला पिस्ने सिलौटाको उचित व्यवस्थापन गर्नको लागि सबै परिवारलाई जनचेतना जगाउने काम भईरहेको बुढीगंगा नगरपालिका सरसफाइपालिका संयोजक दिपक खड्काले जानकारी दिनुभयो।



1720 पटक हेरिएको 

