खानेपानीले समाप्त पारेको दुःखको कहानी

घरघरमै पानीको बन्दोबस्त भएपछि पानी ओसार्न लाग्ने समयको बचत भएको र अन्य सिर्जनात्मक काममा लगानी गर्न पाएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो ।

उदयपुर : उदयपुरको बेलका नगरपालिका ५, डाँडागाउँकी गंगादेवी खतिवडा सँग खानेपानी जोहो गर्दाका अनगिन्ती दुःखका कहानी छन् । उमेरले ६३ बर्ष पार गरिसक्नुभएकी खतिवडालाई यो जुनीमा खानेपानीको दुःख हट्नेछन् भन्ने लागेकै थिएन । तर उहाँको जीवनमा नसोचेको कुरा भईदियो । डोकोमा बोकेकै भरमा खानेपानीको गर्जो टार्दै आउनुभएकी खतिवडाको घरैमा धारा बनेपछि नसोचेको खुसी मिलेको हो । खतिवडा भन्नुहुन्छ ‘हामीले यो जुनीमा खानेपानीको धारो आँगनमै आउँछ भन्ने सोचेको पनि थिएन, तर फण्ड बोर्डले पानी ल्याईदिएपछि हामीलाई अहिले धेरै सुख छ ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा डाँडागाउँ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि गंगादेवी खतिवडा जस्ता धेरै महिलाहरुले ढाड खुईलिने गरी पानी बोक्नु पर्ने बाध्यताको अन्त्य भएको हो । घरघरमै पानीको बन्दोबस्त भएपछि पानी ओसार्न लाग्ने समयको बचत भएको र अन्य सिर्जनात्मक काममा लगानी गर्न पाएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो । ‘पानीको धारा आँगनमै हुँदा खासगरी महिलालाई बढी नै सजिलो हुँदोरहेछ । जसले जे भने पनि अहिलेसम्म घरधन्दाको काम र पानीको जोहो गर्न महिला नै अगाडि खट्नुपर्ने हुन्छ । त्यसैले पानी घरैमा उपलब्ध भएपछि पहिलो कुरा महिलालाई नै धेरै सजिलो हुने रहेछ’ अधिकारीले भन्नुभयो ।

खानेपानीले गर्दा सरसफाइमा पनि सुधार


बेलका नगरपालिकाका विभिन्न वडामा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानी आयोजना सँगै पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम समेत सञ्चालन गरेको छ । बेलकाको वडा नं. ५ डाँडागाउँ, पूर्ण सरसफाइउन्मुख घोषणा भईसकेको गाउँ हो । पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत चर्पीको समुचित प्रयोग गर्न, सुरक्षित खानेपानी तथा खाना मात्र सेवन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन र वातावरणीय सरसफाइ राख्न विभिन्न प्रशिक्षण दिईएको छ । टोलमा सञ्चालित पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापले आफूहरुमा सफा सुग्घर गर्ने बानीको विकास भएको र खानेपानीकै कारण सम्भव भएको बताउनुहुन्छ, बेलका नगरपालिका ५ डाँडागाउँकी अम्बिका कोइराला ।

पानीको उपलब्धता बिना गाउँमा जत्ति सुकै सरसफाइको कुरा गरेपनि त्यो अधुरो नै हुन्थ्यो । तर घरघरमै खानेपानीको बन्दोबस्त भएपछि मानिसको जीवनशैली नै फेरिएको छ । डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी कोषाध्यक्ष तुलसा आले भन्नुहुन्छ ‘खानेपानीका कारण भाँडा सुकाउने चाङ बनाउने र चाङमा सुकाएर मात्र प्रयोग गर्ने बानीको विकास भएको छ ।’

घरघरमै खानेपानीको व्यवस्था भएपछि सरसफाइको स्तर नै फेरिएको डाँडागाउँका बासिन्दाले वातावरणीय सरसफाइमा पनि जोड दिने गरेको छ । यसका लागि उनीहरुले मुख्य बाटोमा फोहोर बिसर्जन गर्ने बोरा राखिएको थियो । तर घामपानीका कारण बोरा नै च्यातिएपछि भरपर्दो नभएकाले एकैठाउँमा जम्मा गरेर जलाउने वा नगरपालिकाको गाडी आउँदा संकलन गरेर पठाउने गरिएको छ । यसका साथै हरेक अभिभावकले आफ्ना बालबालिकालाई समेत सरसफाइ शिक्षा दिने गरेको कोषाध्यक्ष आलेले बताउनुभयो ।

घरघरमै खानेपानी उपलब्ध भएपछि पानी ओसार्दा हुने दुःखबाट मुक्ति मिलेको मात्र छैन, जीवनशैलीमै परिवर्तन आएको छ । तरकारी खेती मार्फत आयआर्जन, बालबालिकाको पढाईमा सहयोग, महिलाको जीवनयापनमा सहजता र सरसफाइमा अभिबृद्धि डाँडागाउँ खानेपानी तथा ससफाइ आयोजनाकै कारण सम्भव भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार