विष्णुमती किनारमा बन्यो पुष्पलाल पार्क, चालु आर्थिक वर्षभित्र ३० वटा पार्क बनाउने योजना

काठमाडौ : काठमाडौं महानगरपालिका वडा – १८ स्थित विष्णुमति किनारमा पुष्पलाल स्मृति पार्क निर्माण गरिएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, बागमती प्रदेश र काठमाडौं महानगरपालिकाको संयुक्त अनुदानमा पार्क निर्माण गरिएको हो । करिब एक करोडको लागतमा निर्माण भएको पार्कको पुष्पलालको ४० औं स्मृति दिवसको अवसरमा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि सम्बोधन गर्दै नेपालले पुष्पलालको सम्झनामा निर्माण गरिएको पार्क उहाँकै स्मृति दिवसको अवसर पारेर उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘विष्णुमतीवारि पुष्पलालको सालिक सहितको पार्क निर्माण भयो, पारिपट्टि शोभागवतीमा गंगालालको सालिक सहितको पार्क छ, नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेका योद्धाहरूका सालिक वरिपरि देख्दा र इतिहासका पन्ना पल्टाउन पाउँदा मन आनन्दित हुन्छ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रवर्द्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरूप काठमाडौं महानगरपालिका अघि बढेको स्मरण गराउनुभयो । ‘काठमाडौं महानगरपालिका महानगर क्षेत्र भित्रका मूर्त–अमूर्त सम्पदाको संरक्षण तथा संवर्द्धनको कामलाई तीव्रताका साथ अघि बढाउन चाहन्छ, यो त्यसैको एउटा उदाहरण हो। लामो समयको मिहिनेतपछि यहाँ पार्क निर्माण सम्भव भएको छ।’ मेयर शाक्यले भन्नुभयो ।

प्रमुख शाक्यले आगामी दिनमा नदी किनारको सौन्दर्यीकरण गरेर अघि बढ्ने र वडा – वडामा भएका यस्ता कार्यमा काठमाडौं महानगरपालिकाको निरन्तर सहयोग र सहकार्य रहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘अहिले वडा – १८ मा पार्क निर्माण भएको छ। पार्क निर्माणको काम यतिमा मात्रै सीमित रहन्न। वडा – १७ सम्म यही पार्कलाई जोडेर निर्माण गर्ने तयारी सुरू भएको छ, काठमाडौं महानगरपालिकालाई सीमानाले छेक्दैन। अध्यक्षलाई मेरो वडा मात्रै भन्ने होला। तर, मेयरका लागि वडाको सीमाना छैन। हरेक वडा – वडामा यही आर्थिक वर्षमात्रै ३० बढी पार्क निर्माण गर्ने योजना अघि बढाएका छौं।’

सातौं नगरसभाले विष्णुमती किनारमा रहेका नदी किनारलाई सौन्दर्यीकरण गरेर हरियाली प्रवर्द्धन गरी पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत २ करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार